काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादमिर पुटिनबीच झण्डै ४ घण्टा वार्ता भएको छ । उनीहरु बीचको वार्ता स्विट्जरल्यान्डको राजधानी जेनेभामा भएको हो । बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बुधबार रुसी समकक्षीसँग वार्ता गरेका छन् ।
पछिल्लो समय खस्किँदै गएको अमेरिका–रूस सम्बन्धमा बाइडेन–पुटिन वार्ताले खासै ठूलो परिवर्तन नल्याउने वार्तापछि उनीहरूले गरेका छुट्टाछुट्टै पत्रकार सम्मेलनबाट देखिन्छ । जेनेभा तालको किनारमा बाइडेन र पुटिनले छुट्टाछुट्टै पत्रकार सम्मेलनमार्फत् एकअर्काबारे नराम्रा शब्द त प्रयोग गरेनन् तर वार्ताबाट सम्बन्धमा परिवर्तन हुने संकेत पनि गरेनन् ।
दुबै नेताहरूले वासिङ्टन र मस्कोमा फेरि आफ्ना राजदूत पठाउने सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि बाइडेनले गत मार्चमा पुटिनलाई हत्यारा भनेपछि रुसले आफ्ना राजदूतलाई वासिङ्टनबाट फिर्ता बोलाएको थियो भने अमेरिकाले पनि मस्कोबाट आफ्ना दूतलाई बोलाएको थियो । त्यस्तै दुबै राष्ट्रपतिले साइबर सुरक्षा र हतियार नियन्त्रणबारे कुराकानी गर्ने सहमति गरेका छन् ।
ती विषयमा अब कसरी कुराकानी अघि बढ्छ भन्ने खुलाइएको छैन । वार्ताका क्रममा आफूले गत मेमा अमेरिकाको पूर्वीक्षेत्रमा पाइपलाइनमा भएको साइबर आक्रमणको कुरा उठाएको बाइडेनले बताए । तर पुटिनले भने रुसले अमेरिकामाथि कुनै साइबर हमला नगरेको दाबी गरे । राष्ट्रपति बाइडेनले पुटिनलाई १६ वटा क्षेत्रमा रुसले साइबर हमला गरे त्यसको परिणाम गम्भीर हुने भनेको बताए । तर १६ क्षेत्र के के हुन् भन्ने उनले खुलाएनन् ।
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीका विषयमा पनि आफूले कुरा उठाएको बाइडेनले बताए । रुसी राष्ट्रपति पुटिनले भने जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमण, ब्ल्याक लाइभ्स म्याटर आन्दोलन जस्ता कुराले अमेरिकामा अस्तव्यस्ता ल्याएको भन्दै सहानुभूति प्रकट गरे । उनले आफ्नो मुलुकमा त्यस्तो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।
दुई नेताहरूले व्यक्त गरेका फरकफरक धारणाले उनीहरूबीचको बहुप्रतिक्षित वार्ताले यी दुई शक्ति राष्ट्रबीच जारी तनावपूर्ण सम्बन्ध कायम रहने देखिएको छ । पुटिनसँगको भेटवार्तापछि राष्ट्रपति बाइडेन पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् ।