काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ ।
संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित अबको साता जारी लकडाउन कायम राखेर त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेको छ ।
प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रम निवास बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यि देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढने गरी हवाई उडान सञ्चालन हुने छन् ।
बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।
बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताए ।
कोभिड नियन्त्रणका लागि सबै भन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै उहाँले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइ रहेको आगामी साउनदेखि लगाउन थालिने बताए ।