काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसमविदहरुले गरेको पूर्वानुमानको ख्याल नगरी वेवास्ता गर्ने ओली सरकारको रबैयाका कारण बाढी पहिरोबाट जनधनको ठुलो क्षती भएको आरोप लगाएका छन्। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले केहीदिन अघि देखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागमा बाढी र पहिरोका कारण भएको जनधनको क्षतीप्रती दु:ख व्यक्त गर्दै बाढी र पहिरोमा परेर ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली अर्पण गर्दै ज्यान गुमाएका मानिसहरुको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
बाढी र पहिरो लगायका विपदमा परेर घाइते भएका हरुको स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष प्रचण्डले बाढी र पहिरोमा परि हराएका नागरिकहरुको खोजि गर्न सरकारसँग आग्रह गरेका छन। बाढी पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको उल्लेख गर्दै कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको बताएका छन् ।
प्राकृतिक विपदलाई वेवास्ता गर्ने ओली सरकारको गलत रवैया कारण ठुलो जनधनको क्षती भएको भन्दै उनले भनेका छन्, ‘मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो।’
हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन अध्यक्ष प्रचण्डले सरकारसँग विशेष आग्रह गरेका छन्।
यस महाविपतमा राहत र उद्धार कार्यमा आ-आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन गर्दै राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गरेका छन्।
जारी विज्ञप्तिमा प्रचण्डले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेका छन्।
हेरौं प्रचण्डको विज्ञप्ति ⇓