• चैत्र २६ २०८१, बुधबार

नेटोको अभिव्यक्ति र चिनियाँ आक्रोस : चीन-अमेरिका आमनेसामनेको संकेत

असार १ २०७८, मंगलवार

काठमाडौं । विश्व राजनीति निकै अस्थिर र जटिल मोडमा उभिएको छ । विश्व राजनीतिक रंगमञ्चमा अमेरिका र चीन नै आजका मूख्य खेलाडी हुन् । त्यसमा रुस, भारत लगायतका देशहरु पनि कुनै न कुनैरुपमा जोडिन आइपुग्छन् । विश्लेशकहरु हालको विश्व राजनीतिलाई पूर्वीय र पश्चिमी दर्शन, राजनीति, संस्कृति र आर्थिक मामिला भएको मान्दछन् ।

यसमा पश्चिमा शक्तिको अगुवाई अमेरिका तथा युरोप र पूर्वीय देशहरुको अगुवाई चीनले गरिरहेको छ । यसैका कारण हिजोदेखि आजसम्म अमेरिका र चीनको मुख्य प्रतिष्पर्धा भएको स्पष्ट देख्न सकिन्छ । यसका बाछिटाहरु बेलाबेला सतहमा पनि देखा पर्दछन् । व्यापार, सैन्य, राजनीति र सभ्यता जस्ता मानवीय महत्वका विषयमा अमेरिका र चीनका बीचमा पर्ने टक्कर नै यसका उदाहरण हुन् ।

विश्वका कुनैपनि देशमा हुने कुनैपनि घटनामा चीन र अमेरिका प्रत्यक्षरुपमा जोडिएका देखिन्छन् । फलस्वरुप उनीहरु बेलाबेला भिडन्तको अवस्थामा पुग्छन् । पछिल्लो चरणमा फेरिपनि चीन र अमेरिका बीचमा यस्तै प्रतिष्पर्धा देखापरेको छ । अमेरिकाको नियन्त्रणमा रहेको सैन्य संगठन नेटोले आफ्नो देशप्रति दिएको अभिव्यक्तिप्रति चीनले कडा प्रतिकृया जनाएको छ । नेटोका नेताहरूले बेइजिङबाट ‘प्रणालीगत चुनौती’ आइरहेको भन्दै चेतावनी दिएपछि चीनले यसका बारेमा कडा प्रतिकृया दिएको हो ।

प्रतिकृयामा चीनले नेटोमाथि आफ्नो शान्तिपूर्ण विकासको अपमान गरेको आरोप लगाएको छ । नेटोले आणविक अस्त्र विकास गर्ने सहितका चीनका कामले ‘विधिमा आधारित अन्तराष्ट्रिय व्यवस्था’ लाई खतरामा पारेको बताएको थियो । तर चीनले भने नेटोले आफूबारे अतिरञ्जना गरेको दाबी गरेको बीबीसीले जनाएको  छ ।

चीनलाई नेटोले आफ्नो छलफलको विषयवस्तुको केन्द्रमा पहिलो पटक राखेको हो । नेटोको चेतावनीको प्रतिवाद गर्दै चीनले आफ्नो सुरक्षा नीति ‘प्रतिप्रक्षात्मक स्वरूपको’ रहेको भन्दै नेटोलाई आफ्नो शक्ति ‘संवाद प्रवद्र्धनका लागि’ प्रयोग गर्न आग्रह गरेको छ । युरोपेली संघमा रहेको चिनियाँ नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छः प्रतिरक्षा र सैन्य आधुनिकीकरणको हाम्रो जोड औचित्यपूर्ण, तर्कसङ्गत, खुला र पारदर्शी छ ।

उसले नेटोले चीनको विकासलाई ‘विवेकसङ्गत ढंगले हेर्दै ‘चीनका वैध स्वार्थ र अधिकारलाई आफ्ना गठबन्धन राजनीतिक सञ्चालन गर्नका लागि बहानाका रूपमा प्रयोग गर्न, मुडभेड सिर्जना गर्न र भूराजनीतिक प्रतिस्पर्धा गर्न बन्द गर्न’ भनेको छ । नेटोको वक्तव्य सोमवार ब्रसेल्समा भएको उसको एकदिने सम्मेलनको अन्त्यमा आएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडन पहिलो पटक उक्त सङ्गठनको बैठकमा सहभागी भएका थिए । तीस युरोपेली र उत्तर अमेरिकी देशहरूको यस शक्तिशाली राजनीतिक एवं सैन्य गठबन्धनले रुसलाई आफ्नो मुख्य जोखिमका रूपमा हेर्ने गर्छ । बाइडनले जिनिभामा बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न लागेका छन् । शिखर बैठकपछि जारी गरिएको विज्ञप्तिमा चीनको ‘घोषित महत्वाकाङ्क्षा र आक्रामक व्यवहारले नियममा आधारित अन्तराष्ट्रिय व्यवस्था र गठबन्धनको सुरक्षासँग जोडिएका क्षेत्रमा’ प्रणालीगत चुनौती दिने उल्लेख गरिएको छ ।

त्यसमा नेटो पारदर्शिताको अभाव र गलत सूचनाको प्रयोगप्रति चिन्तित रहेको उल्लेख गरिएको छ । चीन विश्वको एउटा प्रमुख सैनिक र आर्थिक शक्ति हो र त्यहाँको कम्युनिस्ट पार्टीले राजनीति, दैनिक जीवन र समाजको धेरै हिस्सामा आफ्नो प्रभाव कायम राखेको छ ।

चीनको सेना विश्वकै सबैभन्दा ठूलो फौज हो जसको सक्रिय सेवामा २० लाखभन्दा बढी सैनिक कार्यरत छन् । चीनको बढ्दो सैनिक सामथ्र्यलाई लिएर नेटोमा चिन्ताहरू गहिरिँदै गएको पाइन्छ । उसले त्यसलाई सुरक्षा र आफ्ना सदस्य राष्ट्रहरूको लोकतान्त्रिक मूल्यप्रतिको जोखिमका रूपमा हेर्ने गरेको छ । हालैका वर्षमा अफ्रिकामा सैनिक शिविरहरू बनाउने चिनियाँ गतिविधिलाई लिएर पनि नेटो झस्किएको छ ।