काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चौतर्फी आक्रामक नीति लिएको माधवकुमा नेपाल–झलनाथ खनाल समूहले केही प्रदेशमा ध्रुवीकण गरेको छ ।
नेपाल–खनाल ससमूहले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकार जोगाउन विपक्षीसँग ध्रुवीकरण गरि निर्णायक भूमिका निर्वाह गरेको छ । तर, पछिल्लो समय उक्त समूहले प्रदेश–१, गण्डकी र बागमतीमा नीति तथा कार्यक्रमको पक्षमा उभिएसँगै उसले एमाले एकता र सहकार्यको रणनीति अगाडि सारेको हो । यी प्रदेशहरूमा ओली र नेपाल–खनाल दुवै समूह मिलेर आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम ल्याएका हुन् ।
यद्यपि विगत केही महिना यता स्थानीय, प्रदेश र केन्द्रमा नेपाल–खनाल समूह ओलीविरुद्ध आक्रामक रूपमै उत्रिएको छ । उसले विपक्षी दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव–संघीय वरिषद अध्यक्ष डा.बाबुराम भट्टराई समूहलाई समर्थन गरेर ओलीको कामकारबाही र राजनीतिक गतिविधिप्रति विरोध जनाउँदै आएको छ ।
विपक्षीसँग गठबन्धन गरेर ओलीविरुद्ध आक्रामक तवरले उत्रिएको सो समूह प्रदेशबाट एकताको सन्देश प्रवाह गर्न हँदैसम्मको लचिलो बनेको छ । यी प्रदेशहरूमा नेपाल–खनाल समूहको दोस्रो तहका नेताहरू भीम आचार्य, अष्टलक्ष्मी शाक्य पार्टी एकीकरणका लागि लचिलो बनेका हुन् ।
गण्डकी प्रदेशमा नेपाल–खनाल समूहका एकमात्र प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा नै मतदान गरे । तथापि उक्त प्रदेशमा सो समूहको सहयोगबिना नै काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनको सरकार बनेको छ ।
यो सहमतिले केन्द्रमा पार्टी एकीकरण सहजताका लागि आफूहरूले प्रदेशबाट सहमतिको बाटो खोलेको एमाले नेपाल–खनाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले बताइन् । यसका साथै हामीले प्रदेश–१, गण्डकी र बागमती प्रदेशमा दुवै समूहको सहमतिमा नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हौँ । यसले केन्द्रमा पनि सहमतिको सन्देश प्रवाह हुनेमा हामी आशावादी छौँ, शाक्यले भनिन् ।
त्यस्तै उक्त समूहका अर्का नेता भीम आचार्यका अनुसार, ‘हामीले पार्टी एकता जोगाउनका लागि हामी हदैसम्मको लचक बन्दै आएका छौँ र बन्ने पनि छौँ । विगत लामो समययता हाम्रो पार्टीभित्र केही समस्या बल्झिएका छन् । यसको समाधानका लागि हामीले हाम्रा नेता र हामीबीच छलफल गर्दै आएका छौँ । त्यसैले हामीले यी तीन प्रदेशमा दुवै समूहको सहमति र सहकार्यमा नीति तथा कार्यक्रम बाहिर ल्याएका हौँ । यसबाट एकताको सन्देश प्रवाह हुने नै छ र हाम्रो चाहना सकभर पार्टी विभाजन रोक्नु हो ।’
तथापि पहिले यसबारे केन्द्रमा जानकारी नदिएरै पार्टी एकता जोगाउनका लागि आफूहरूले यो निर्णय गरेको बताए । पार्टीभित्र कलह मौलाउँदै गएपछि एकताका लागि अनेकौँ प्रयास गर्दै आएका छौँ । यसलाई हामीले निरन्तरता दिनेछौँ । किनकि पार्टी फुट्नु आफैमा राम्रो पक्ष हुँदै होइन । पछिल्लो समय यसबारेमा केन्द्रमा पनि जानकारी गराएका छौँ । केन्द्रको पनि यसप्रतिको सकारात्मक धारणा छ, दुवै नेताले भने ।
एमाले दुवै समूहको एकताका लागि पछिल्लो समय अनुकूल बन्दै गएको छ । यसअघि नेपाल–खनाल समूह बागमती प्रदेशकी संयोजक शाक्य र नेता आचार्यबीच आपसमा परामर्श भएको थियो । उक्त परामर्श भए लगत्तै दुवै समूहको प्रदेशका पार्टी र सरकारलाई एकढिक्का बनाएर लैजाने समझदारी अनुसार दुवै समूहको निर्णय भएको छ । प्रदेशबाटै एकीकृत भएर जाँदा केन्द्रमा पनि यसको प्रभाव पर्ने भएकोले यस्तो निर्णय गर्न पुगेको दुवै समूहका नेताले बताए ।
तथापि केन्द्रका शीर्ष नेताद्वय नेपाल र खनालले पार्टी एकताको बारेमा विभिन्न चरणमा छलफल गरे पनि टुंगोमा भने पुगेका छैनन् । ओली र नेपाल–खनालबीच औपचारिक तथा अनौपचारि भेटवार्ता हुँदै आए पनि पार्टी एकताले मूर्तरूप लिन नसकेको छैन । यसअघि ओली र नेपालबीच विभिन्न चरणमा भेटवार्ता र छलफल भएको थियो । उनीहरूको भेटवार्ता र छलफलले हालसम्म एकताको गाँठो फुकाउने कुनै तय गरेको छैन ।
उल्टै नेपाल–खनाल समूहले विपक्षी दलहरूसँग गठबन्धन गरेर ओलीविरुद्ध खनिएकै छन् । यसलाई रोक्नका लागि सो समूहका दोस्रो तहका नेताहरूले भेटवार्तालाई नियमितता दिएको बताइएको छ । तर, उनीहरूको भेटवार्ताले पनि पार्टी एकताले मूर्तता नपाएको बुझिएको छ । हिजो माधवकुमार नेपालसँग काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्ताले विपक्षी गठबन्धनलाई अझै बलियो बनाउने सहमति भएको छ ।