• मंसिर १२ २०८१, बुधबार

आन्दोलित ट्यांकर चालक र सरकारबीच सहमति, भोलिदेखि खोप उपलब्ध गराइने

असार १ २०७८, मंगलवार

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोपको माग गर्दै आन्दोलनमा उत्रिएका इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुलाई खोप उपलब्ध गराउने सहमति भएको छ ।

ट्यांकर चालकलाई बुधबार (भोलि) देखि खोप उपलब्ध गराउने सहमति भएको हो । बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएको र आन्दोलनका कार्यक्रम फिर्ता लिएको संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।

मंगलबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि आन्दोलन फिर्ता भएको छ । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालक लगाएत मजदुरहरु आन्दोलित भएका थिए ।

कोरोनाविरुद्धको खोप नपाएको भन्दै संघको आह्वानमा वाग्मती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।

मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका छन् । जसले गर्दा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।