बागलुङ। लगातारको वर्षाले गर्दा पहिरो गएर बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर परिवार बिस्थापित भएका छन्। गाउँपालिकाको वडा नम्बर ७ जिरेदीमा घरमाथि र घरमुनिबाट पहिरो गएपछि पाँच परिवार बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले बताएको छ।
जिल्ला सदरमुकाम बागलुङ बजारहुँदै रेश गाउँ जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिदा घरमाथि पहिरो आएको बताइएको छ। जिरेदीका चित्र बहादुर कार्कीको घरमाथिबाट पहिरो आएको गाउँपालिकाका कार्यपालिका सदस्य टिका संगम बिकले बताए।
पहिरो गएको स्थानका बल बहादुर जिसी,कृष्ण जिसी लगायतका स्थानीयका घर पहिरोको उच्च जोखिममा छन्। कार्यपालिका सदस्य बिकका अनुसार जोखिममा रहेका र पहिरो गएका सबै घर परिवारलाई अन्यत्र सार्ने काम भइरहेको छ। पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानिय तहहरुबीचको सडक सम्पर्क टुटेको छ।
त्यस्तै बागलुङमै कालिगण्डकी करिडोरको मालढुङ्गामा पनि पहिरोले आवत जावत अवरुद्ध गरेको छ। त्यस्तै गरेर बाग्लुङ कुश्मिशेरा सडक, बागलुङ बरेङ सडक, मध्यपहाडी लोकमार्ग र विभिन्न पालिकाहरुबाट वडा कार्यालय तथा गाउँहरु जोड्ने सबै सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ।