• मंसिर ११ २०८१, मंगलवार

चाक्सीबारीमा के पकाउँदै छन् पौडेल समूहका नेताहरु ?

असार १ २०७८, मंगलवार

काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक राजधानीमा सुरु भएको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा वरिष्ठ नेता पौडेल नजिकका केन्द्रिय सदस्यहरुको बैठक बसेको जानकारीमा आएको छ। पौडेलले आफूलाई समर्थन गर्ने नेताहरुसँग पार्टीको १४ औं महा अधिवेशनका सन्दर्भमा छलफल गर्न सो बैठक बसिरहेको बुझिएको छ।

वरिष्ठ नेता पौडेलले यस अघि देउवा इतरका केन्द्रिय सदस्यहरुसँग भर्चुवल बैठक गरेका थिए। सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता पौडेलले पछिल्लो समयमा महाधिवेशन कागजी रुपमा गर्नेगरी चोचोमोचो मिलाएको पौडेल पक्षमा आशंका रहेको छ।

कोरोना भाइरस महामारी र विकशीत राष्ट्रिय राजनीतिका कारण महाधिवेशन गर्न नसकेको खण्डमा काँग्रेसका वर्तमान पदाधिकारीहरुलाई कायम राखेर नयाँ विधानले परिकल्पना गरेको थप पदाधिकारीको संख्या थपेर पार्टीभित्र आम सहमती खोज्ने विकल्पमाथि बहस भैरहेको देखिन्छ।

नेता शेखेर कोइरालाले सोमबार मात्रै वरिष्ठ नेता पौडेल समेत सहभागी भर्चुवल अन्तरक्रिया कार्यक्रममा सोही विकल्पमाथि देउवासँग सम्झौता गरिएको भनेर सार्वजनिक गरेका थिए। काँग्रेसका केही पदाधिकारीले यसरी मिलाउन खोजिए आफूहरुलाई स्वीकार्य नहुने भनेर चेतावनी दिएका थिए। उनीहरुको आशंका नयाँ प्रस्तावित कार्यतालिका देखाउनका लागि मात्रै ल्याइएको थियो कि भन्ने छ।

नयाँ कार्यतालिका अनुमोदन गर्न बिहीबार बस्ने काँग्रेस केन्द्रिय कार्यसमिति बैठक पहिले आफू पक्षको समान धारणा बनाउन पौडेलले बैठक राखेको देखिन्छ।