• मंसिर ११ २०८१, मंगलवार

ज्ञानेन्द्र शाही विरुद्ध स्थानीय सडकमा, लगाए यस्ता आरोप (भिडियो सहित)

जेष्ठ ३० २०७८, आईतवार

काठमाडौँ।  सामाजिक अभियन्ताको रुपमा चिनिएका ज्ञानेन्द्र शाही विरुद्ध सुर्खेतमा स्थानीयहरू सडकमा उत्रिएका छन्।

सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ को करेखोलामा शुक्रबार राति ज्ञानेन्द्र शाहीको समूहले मदिरा सेवन गरेर गाउँका युवाहरुलाई आक्रमण गरेको र उनीहरुले गाउँका युवाहरुलाई आक्रमण गरेपछि गाउँका स्थानिय र शाहीको समूहबीच हानाहान भएको तर निषेधाज्ञाको समयमा रात विरात आएर गाउँले जिस्काउने अनि भोलिपल्ट उल्टै युवाहरुलाई थुनाउने भनेर स्थानीयहरू सडकमा आएका हुन्।

शाही विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले जड्याहा ज्ञानेन्द्र शाही मुर्दावाद, हामीलाई न्याय चाहियो,चाहियो भनेर नाराबाजी गरेका छन्।

शाही विरुद्ध प्रदर्शनमा उत्रिएकी मिना सलामीले घटनाबारे सुनाउदै भनिन, ‘ज्याला मजदुरी गरेर खाने हाम्रा आफन्तलाई सामाजिक अभियान चलाउने व्यक्ति हुँ भन्दै आफै गाली गर्ने र आक्रमण गर्ने अनि आफै थुनाउनु कस्तो न्याय हो ?’

नेवारेमा घर निर्माणका काम गर्ने मजदुर युवाहरु काम गरेर फर्किरहेका बेला सलामी टोलमा झडप भएको मीनाको भनाई रहेको छ।

शाहीको समूहले स्थानिय नवराजलाई आक्रमण गरेपछि प्रतिकार गर्दा घटना भएको बताउदै प्रदर्शनमा उत्रिएकी मीनाले बताइन। ‘चिल्ला गाडीमा हिडेर मजदुरी गरेर परिवार पाल्नेको समस्या नबुझ्ने अनि अनावश्यक भिडियो बनाएर सामाजिक संजालमा हालेर केपीको भरौटे भन्ने, यस्तै हुन्छन् अभियन्ता, के अभियन्ताको काम त्यही हो ?’ मीनाले प्रश्न गरिन।

निर्दोस मान्छेलाई यसरी बिनाकारण थुनाउदा गरिब दु:खिको परिवार बिचल्ली परेको कसले हेर्ने भनेर उनले दुखेसो पोखिन। ‘मजदुरहरुसँग रात विरात झगडा गर्दै, जाँड खाँदै हिड्ने कसरी समाजसेवी’ भनेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको अगाडी प्रदर्शन गरिरहेका अर्का प्रदर्शनकारीले प्रश्न गरे।

स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडी शाही विरुद्ध प्रदर्शन गरेर नारा जुलुश गरेपछि प्रहरीको रोहवरमा शाही र पक्राउ परेका मजदुरका आफन्तहरु वार्तामा बसिरहेका छन्। वार्ता सकारात्मक रहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका आफ्ना आफन्तहरु टंक सलामी, घनश्याम सलामी, सुजन सारु, नवराज गिरि र ललित गाहालाई बिनासर्त रिहाई नगरे कडा आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन्।  घटनाको प्रकृती हेर्दा मदिरा नै मुख्य कारण रहेको देखिने प्रहरीको भनाई छ।