• मंसिर ११ २०८१, मंगलवार

प्रदेश प्रमुखले २ नम्बरका मुख्यमन्त्रीलाई पत्र लेखेर भने: मन्त्रिपरिषद समावेशी बनाऊ

जेष्ठ ३० २०७८, आईतवार

जनकपुरधाम। २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश प्रमूख राजेश झा ‘अहिराज’ले प्रदेशको मन्त्रिपरिषद समावेशी बनाउन सुल्झाएका छन्। प्रमूख अहिराजले प्रदेश २ का मुख्यमन्त्रीलाई एक स्मरण पत्र पठाउदै मन्त्रिपरिषदलाई समावेशी बनाउन स्मरण गराएका हुन्।

प्रदेश २ को सरकार बनाउदा पहाडे समुदायलाई समावेश नगरीएको, महिलालाई पनि प्राथमिकता नदिइएको र मधेसी दलितलाई पनि सहभागी नगराइएको भन्दै प्रदेश प्रमुख अहिराजले मुख्यमन्त्रीलाई गत शुक्रबार पठाएको चार पृष्ठ लामो पत्र आइतबार सर्वाजनिक भएको छ । मुख्यमन्त्रीलाई प्रदेश प्रमुखलाई पठाएको पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा पहाडे समुदाय, महिला र दलितहरुलाई उचित स्थान दिन भनिएको छ ।

संविधानले महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने भनेको प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई स्मरण गराएका छन् ।

‘प्रदेश २ मा मूलतः मधेसी समुदायका नागरिकको वसोबास रहेको भएता पनि गैर मधेसी (पहाडी मूलका) नागरिकहरुको पनि उल्लेख्य बसोबास रहेकोछ,’ प्रदेश प्रमुखको पत्रमा भनिएको छ,‘… प्रदेशको मन्त्रिपरिषदमा उल्लेखित जाति समुदाय र वर्गको अनुहार प्रतिविम्वित हुनुपर्छ भन्ने कुरामा द्विविधा हुन सक्दैन ।’