काठमाडौँ। गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले आइतबार राजिनामा दिएका छन्। प्रदेश सरकार फेरबदल भएसँगै प्रदेश न्यायाधिवक्ताले राजिनामा दिएका हुन्। हरेक सरकारले आ-आफ्नै तरिकाले मुख्य न्यायधिवक्ता नियुक्ती गर्ने गर्छन। संघीयता कार्यान्वयनपछि बनेको गण्डकी प्रदेशको पहिलो सरकारले घिमिरेलाई मुख्य न्यायधिवक्ता नियुक्त गरेको थियो।मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले घिमिरेलाई २०७४ चैत २१ गते प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्ती गरेका थिए।
नेकपा (एमाले)का पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाएपछि विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेस गण्डकीका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल शनिबार गण्डकीका मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्य न्यायधिवक्ता सरकारको कानुनी सल्लाहकार हुने भएकोले सरकार परिवर्तन भएसँगै महान्यायधिवक्ता पनि परिवर्तन हुने गर्छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री मार्फत प्रदेश प्रमूखको नाममा बुझाएको राजिनामा पत्र सार्वजनिक गर्दै घिमिरेले आफूले मुख्य न्यायधीवक्ताको रुपमा रही सेवा गरेका ३ वर्ष ३ महिना संवैधानिक र कानुनी कर्तव्य पालन गर्न इमान्दार प्रयास गरेको आफूलाई सन्तोस लागेको बताएका छन्। आफ्नो अवधीमा आफ्नो कार्यसम्पादनमा कुनै त्रुटी भएको भए प्रदेशवासीहरुसँग खुला ह्रदयले क्षमा याचना गर्दछु भन्दै घिमिरेले आफूले पदमा रहुन्जेल गरेको सदभाव र सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन्।