• मंसिर ११ २०८१, मंगलवार

स्पाइनल कर्ड इन्जोरी हाइलेबलका विरामी कोरोना जित्न सफल

जेष्ठ ३० २०७८, आईतवार

दाङ । दाङमा एकजना स्पाइनल कर्ड इन्जोरी हाइलेबल भएका विरामी कोरोनाभाइरसबाट मुक्त भएका छन् । २ हप्ताभन्दा लामो समयदेखि कोरोना भाइरस संक्रमण भइ होम आइसोलेसनमा रही उपचार गराइरहेका दाङको बबई गाउँपालिका वडानम्बर ४ सुन्दरखालका बुद्धिप्रकाश पाण्डे कोरोना भाइरसबाट मुक्त भएका हुन् ।

पाण्डे ४ वर्षअघि ट्याक्टर दुर्घटनामा परी सख्त घाइते भएका थिए । दुर्घटनापछि नेपालमा उपचार हुन नसकेपछि इण्डियामा उपचार गरी घर फकाईएका पाण्डेको कम्मरदेखि मुनीको भाग पूरा चल्दैन । दिसा, पिसाब समेत अर्कैले गराइदिनु पर्ने उनलाई ह्वील चियरको सहारामा वरपर गराइए पनि उनी आफैले ह्वील चियर चलाउन भने सक्दैनन् ।

दुर्घटनाको सुरुका दिनमा उनलाई कसैले बाँच्ने आशा गरेका थिएनन् । उपचारबाट घर ल्याइएपछि पनि एकोहोरो सुतिरहनु पर्ने अवस्थाका कारण उनको पछाडीको भागमा परेका घाउ र ती घाउ ठिक भएपछि बनेका खाल्डाहरु कसैले हेर्न सक्ने जस्ता थिएनन् ।

विस्तारै उनको शरीर कमजोर हुँदै जिर्न भयो । सुकेको शरीर र भाँचिएको ढाडका कारण उनी चल्न पनि सक्दैन्थे । समयमै पाएको उपचार, श्रीमानको उपचारमा निरन्तर खट्ने उनकी श्रीमती, पढाई बिचैका छोडेर बाबुको उपचारकालागि पैसा कमाउन विदेशिएका २ छोरा र मनकारी आफन्त तथा छिमेकीहरुको माया र सद्भावले पाण्डेलाई बाँच्छुहोला भन्ने आशा पलाएको हो ।

आज पनि उनी औषधिकै भरमा बाँचिरहेका छन् । नियमित औषधि खानु पर्ने, महिना महिनामा स्वास्थ्य (खासगरी अपरेसन गरिएको ढाड) र पेटमा प्वाल पारेर पिसाब निकालिएको मृगौला लगायतका अंगको जाँचको लागि बेलाबेला तुलसीपुर तथा नेपालगञ्ज गइरहनु पर्ने अवस्थाले उनलाई धेरै पिरोलिरहन्छ ।

उनको उपचारका लागि लाखौं खर्च भएको छ । पहिले नै आर्थिक अवस्था कमजोर रहेका पाण्डेको उपचारका कति खर्च लागेहोला अहिले पनि दैनिक हुने खर्चको हिसाब हेरेर साध्य छैन । उनकै कारण कलिला छोराहरुको पढाई बिग्रियो भने श्रीमतीलाई सधैका लागि पीडाको भारी आइलाग्यो ।

कहिलेकाँही घाउमा संक्रमण हुँदा हुने दुःखाई र आउने ज्वोरोले उनलाई निकै थला पार्छ । यस्तो अवस्थाका उनलाई यसपटक संसारभर फैलिएको कोरोनाले पनि हेलाँ गर्यो । ‘जहाँ पातलो त्यहीँ प्वाल पर्ने भने झैं’ एक त उनी ढाडको समस्याका कारण थला परेका थिए, त्यसैमा थपियो कोरोना भाइरस ।

कोरोनाको दोस्रो लहरसँगै देशभर फैलिएको कोरोना भाइरसले उनको गाउँका धेरै मानिस थला परेका थिए । रेडियो सुन्ने र मोबाइलमै संसार भरका घटना परिघटना थाहा पाएका र शरीरमा रोगसित लड्ने शक्ति कमजोर भएका मानिसलाई यो भाइरसले सताउँछ भन्ने चाल पाएका पाण्डेलाई आफूलाई यो भाइरसले समाउने हो भनेर सचेत र चिन्तित हुँदाहुँदै पनि उनलाई संक्रमण भइहाल्यो ।

पाण्डेलाई संक्रमण भएको सरुमा थाहा नभएको तर विस्तारै खाना मिठो नहुने, अल्छी लाग्ने हुँदैजाँदा पछि पछि त खानाको स्वाद पनि थाहा नपाउने भयो । उनी भन्छन्,‘खाना मिठो भएन, खानाको गन्ध पाउन छोडें, खाना खाको होकी गोबर खाको हो केही थाहै पाइन ।’

कोरोना संक्रमणले उनलाई कम्तिमा १७–१८ दिनसम्म सतायो । त्यो बिचमा सो गाउँमा उनी मात्रै विरामी भएनन् । उनको गाउँ सुन्दरखालमा रुघा लागको र ज्वरो नआएको मानिस विरलै थिए । त्यस्तो अवस्थामा स्थानीय औषधि पसलेहरु गाउँमै आएर विरामीलाई औषधि दिइरहेका थिए र ‘ठिक हुन्छ चिन्ता नगर्नु’ भन्दै ढाडस दिएका थिए ।

उनले गाउँका विरामी भएका आफन्तलाई औषधि ल्याएर आएका डाक्टरसित औषधि लिएर खाए र स्थानीय जडिबुटी पनि सेवन गरे । टिमुर, अदुवा, बेसार आदिबाट बनेका झोलिला कुरा त उनले धेरै नै खाए । अब भने उनी विस्तारै निको हुँदै गएका छन् । अब उनलाई खाना मिठो हुँदै गएको छ । अलिअलि तागत लाग्न थालेजस्तो भएको छ ।

विकट, बजार तथा सरकारी सुविधाबाट निकै टाढाको गाउँ भए र कोरोना चेक गर्न जाने अवस्था पनि नरहेकोले उनी घरमै रहेर कोरोनासित लडिरहे । लक्षणको आधारमा उनलाई कोरोना संक्रमण नै भएको हो भन्ने आधारहरु छन् । यो समयमा देखिएका लक्षण र अब निको हुँदै गएको महशुसको आधारमा भन्ने हो भने उनलाई कोरोना भाइरस संक्रमण नै भएको हो भन्न सकिन्छ । तर अब उनी निको हुँदै गएका छन् ।

नेपालमा कोरोना संक्रमण सुरु भएको यो एक महिनामा धेरैको ज्यान गएको छ । अझैपनि हजारौं विरामीले उपचार गराइरहेका छन् । कोरोना जितेर हजारौं मानिस घर फर्किसकेका छन् । विस्तारै संक्रमित हुनेभन्दा निकौ हुनेको संख्या बढ्दै गएको तथ्यांक सरकारले सार्वजनिक गरिरहेको छ । सरकारले जनतालाई कोरोनाको खोप दिनका लागि पहल पनि गरिरहेको छ ।

जे जसरी हुन्छ आफ्ना जनताको ज्यानको सुरक्षा गर्ने दायित्व सरकारको नै हो । त्यसमा जनता आफूले अपनाउनु पर्ने सुरक्षका मापदण्ड पनि अपनाउनु पर्दछ । आफ्नो ज्यानको सुरक्षा आफै गर्ने बानी सबैले बसाल्नु पर्दछ । बुद्धिप्रकाश पाण्डे र उनीजस्ता दिर्घविरामीहरुका लागि सरकाले उचित उपचार र खानपानको राम्रो व्यवस्था मिलाउनु पर्दछ । पीडितहरुले आफ्ना लागि पनि राज्य छ भन्ने महशुस गर्न पाउनु पर्दछ ।