काठमाडौं । नेकपा एमालेका योगेश भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्वी सुब्बाहरू पिल्सिनु पर्ने हो भनेर प्रश्न गरेका छन् ।
एमाले-माओवादी गठबन्धनको बहुमतसहित मुख्यमन्त्री बनेका गुरुङ दुई दलको एकताबाट बहुमतसहित गण्डकीका मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङको अविश्वसनीय बहिगर्मनपछि भट्टराईले यसो भनेका हुन्।
केबल १५ सिटको कांग्रेसले माओवादी र अन्य साना दलको साथ लिएर गुरुङलाई सत्ता बाहिर पठाएर आफ्ना नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री बनाउन सफल भएको छ।
यस्तोमा नेता भट्टराईले एमालेका शीर्ष नेताहरुको अहंकार र शक्तिको टकराबमा कारण पृथ्वी सुब्बा गुरुङले पिल्सिनुपर्ने हो भनेर एमाले अध्यक्ष केपी शर्मा ओली र कारबाहीमा परेका नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै प्रश्न गरेका हुन् ।
‘नेताहरुको अहंकार र शक्तिको टकरावमा कति पृथ्वी सुब्बाहरू पिल्सिनु पर्ने हो?’, उनले सोधेका छन्,’इन्द्रलाल सापकोटा र विष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नि परीक्षामा सामेल भइरहनुपर्ने हो?’
उनले एमाले नेतृत्वलाई लक्षित गर्दै अब ढिला नगर्न अपिल गरेका छन्। ‘अब सबै प्रदेशमा दलका काम कारबाहीको पुन:संरचना गर्न ढिला नगरौँ’, भट्टराईले भनेका छन्।