राजनीति राज्य संचालनको नीति हो । यो सबै नीतिहरुमध्ये सर्वश्रेष्ठ नीति हो । यो नीति सबैभन्दा नैतिकताले भरिएको हुन्छ र हुनुपर्छ अनि आफ्नो घोषित नीतिअनुसार राजनीति चल्नुपर्छ भन्ने मान्यता रहिआएको छ । यस्तै नेता भनेका नीतिलाई निर्माण गर्ने र नीतिअनुसार चल्ने अनि सो नीतिलाई कार्यान्वयन गर्ने र गराउने नायक हुन् । यी नेताहरु पनी नीति अनुसार चल्नुपर्छ भन्ने मान्यता पनि स्थापित छ ।
यसरी नै एउटा देशको वा पार्टीको वा कुनै पनि संघ संस्थाको संचालन र विकासको लागि नेता अनिवार्यरुपले हुनैपर्छ तर त्यस्ता नेता एउटा मात्र हुनुपर्छ भन्ने पनि नीतिशास्त्रमै उल्लेख छ ।
भनिएको पनि छः अनायका विनश्यन्ति, नश्यन्ति बहु नायकासः अर्थात् ‘नायक नभै पनि हुँदैन र धेरै नायक भएर त झनै हुँदैन । यसो भयो भने त झन सत्यानासै हुन्छ ।’
तर हाम्रो एउटा तीतो अनुभव यो रहिआएको छ कि हाम्रा नेता, नायकहरु अर्थात् शासक, प्रशासकहरु वा भनौं कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, राष्ट्र, र संवैधानिक निकाय आदि सबैजसो सर्वोच्च निकायका प्रायः प्रमुखहरु राज्य र निकायहरुका निर्धारित नीति, नियम, निर्णय, निर्देशन र नैतिकता अनुसार चलेको पाइँदैन बरु आआफ्ना नियत, स्वार्त, आवेग र प्रतिशोध अनुसार चलेको पाइन्छ । जब समाज र राज्यका उच्च ओहदाका पद, पावर, प्रतिष्ठा, पैसा र पपुलारिटीले युक्त नेतृत्व र व्यक्तित्वहरुनै आआफ्ना अन्तरनिहित निश्चित निकृष्ट नियत अनुसार चल्छन्स जब आआफ्नै संकीर्ण र स्वार्थी सोच, शैली, संस्कार र संस्कृतीमै संचालित हुन्छन्स जब उनीहरुका स्वविवेक, सद्बुद्धि र सुविचार अनुसार सद्यवहार नभै आआफ्ना आवेग, आक्रोश र आक्रमणद्वारा अराजकता र आतंक फैलाउने गरी काम(व्यवहार गर्छन्, तब उनीहरु रहेको समाज र राष्ट्रको के गति हुन्छ, त्यो अहिले हाम्रो सन्दर्भमा स्पष्ट र सत्य सावित भएको छ ।
भनिएको छ, रिसले आफू खान्छ, बुद्धिले पर खान्छ । तर दुखद विडम्बना यो उखानलाई प्रायः शासक (नेताहरु)ले स्मरण, अवलम्बन र कार्यान्वयन गरेको पटक्कै पाइंदैन र उल्टै विनासकाले विपरीत बुद्धि भनेझैं शासकहरुमा कुबुद्धि भरिएर कुनैबेला आपसमा चाटाचाट गर्नेहरु पनि अहिले त आवेग र आक्रोशमा आएर आक्रमण र आतंक मच्चाउँदै आफूआफूमै काटाकाट, चाराचार र मारामारमा जुटेका छन् ।
यो आवेग र आक्रमणको स्थितिमा पुराउने आन्तरिक तत्वहरु हुन्, आग्रह र पूर्वाग्रह, आशंका र अविश्वास र प्रतिबोध र प्रतिशोध अनि तिनको परिणामस्वरुप एक आपसमा घातप्रतिघात । जब सत्तामा वा सत्ताको सेरोफेरोमा रहेका देशका नीतिनिर्माण र कार्यान्वयनको मुख्य भूमिका र जिम्मेवारी पाएका अख्तियारवाला उच्चपदस्थहरुबाटै आपसमा वैमनस्य, विरोध, अवरोध र प्रतिरोध सुरुहुन्छ तब कुनैपनि संघसंस्था वा पार्टी, संगठनको मात्र होइन देशकै विभाजन, विसर्जन वा विष्फोट र विद्रोह हुने र फलस्वरूप आपसी दङ्गा, साम्प्रदायिकता, हत्याप्रतिहत्याको साथै देसकै अस्मिता र अस्तित्व लुटिने, फुटिने र संकुचित हुने हुन्छ । यसक्रममा देसका नेता (शासक)हरुमात्र होइन जनता र कार्यकर्ता समेत भुटिने अवस्था आउँछ । यो अवस्था आउनु भनेको सामान्यतया विनासकै अवस्था आउनु हो ।
नेपालको राजनीतिक इतिहासमा आवेग र प्रतिशोधको राजनीतिका कारण भएका थुप्रै यस्ता विनासकारी घटनाहरु छन् । तीमध्ये सबैभन्दा पहिलो र ठूलो घटना हो सन् १८१६ को सुगौली सन्धी । त्यतिबेला राजदरबारमा भाइभारदारहरु खासगरी थापा, पाण्डे र बस्न्यातहरुबीचको आपसी वैमनस्य, द्वन्द्व र प्रतिशोधका कारण अङ्ग्रेजहरुलाई नेपालमाथी चढाइ गर्न र सुगौलीसन्धी जस्तो असमान, असत्य, अन्यायपूर्ण र अपमानजनक सन्धी गर्नुपर्ने बाध्यात्मक अवस्था आएको थियो । अङ्ग्रेजहरुलाई नेपालमा पस्न नदिने मात्र होइन कि एसियास्तरमै एउटा मोर्चा बनाएर यी साम्राज्य विस्तारवादी शासकहरुका विरुद्ध डटेर लड्नुपर्छ र सके एसियाबाटै र नसके पनि कम्तीमा हामी वीर नेपालीहरुले मात्र पनि गङ्गापारी फिरङ्गीहरुलाई लखेट्नुपर्छ ।
तत्कालीन कविको एउटा कवितांश स्मरणीय छ :
फिरङ्गी हटाई कुटीपिटी चाँडो
पुगी आज गङ्गा पखाल्नु छ खाँडो ।
भन्ने विचारमा प्रधानमन्त्री भीमसेन थापा थिए । तर अङ्ग्रेजसँगको लडाइ जितेमा भीमसेन थापा लगायतका थापाहरुको लोकपृयता र बर्चस्व बढ्छ र आफूहरु तल परिन्छ र सत्तास्वार्थदेखि टाढै परिन्छ भनेर भीमसेन थापा र उनका पक्षधरहरुलाई तल पार्ने नियतले अन्य स्वार्थी र लोभीपापी भारदारहरुले साथ दिएनन् । फलस्वरुप लडाइँको राम्रो तयारी पनि भएन भने पश्चिमी मोर्चामा लडाइँ भैरहेको र युद्ध नहारेकै अवस्थामा पनि रहस्यमय तरिकाले एकजना कमाण्डरले आत्मसमर्पण गरे भने देशको साँधसीमा जस्तो सर्वाधिक महत्वको उक्त सन्धिलाई सदर गर्ने मुख्तियारी राजा वा प्रधानमन्त्रीमध्येमा मात्रै हुनुपर्ने र सो अनुसार गरिनुपर्नेमा अख्तियारी नपाउनुपर्ने गजराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई सम्झौता गर्ने अख्तियारी दिलाउन परिवन्दमा पारेर सन्धी सदर गरी हार स्वीकार्न बाध्य तुल्याइयो ।
यसबाट हाम्रो मेचीपूर्व टिष्टापारी ७० किमि टाढासम्मको र पश्चिममा महाकालीपश्चिम किल्ला काँगडासम्मको, उत्तरपूर्वमा सिक्किमको ठूलो भूभाग र दक्षिणमा गङ्गावारिसम्मको समस्त भूभाग, समग्रमा हालको नेपालको एकतिहाइभन्दा बढी भूभाग नेपालले गुमाउनु पर्यो । यति मात्र हैन त्यतिबेलासम्म इतिहासमा कसैको अधीनमा नपरेको, गुलाम नबनेको र संसारमै स्वाभिमानी र स्वतन्त्र राष्ट्रको रुपमा जीवित रहिआएको नेपाल यसै मितिबाट अर्धउपनिवेश बन्न पुग्यो । त्यतिमात्र होइन त्यसको प्रत्यक्ष असर र हस्तक्षेप दरबारभित्रैसम्म पर्यो र देशभक्त प्रधानमन्त्री भीमसेन थापालाई जेल हालियो र जेलमै आत्महत्या गरेको प्रचार गराई षड्यन्त्रपूर्वक तरिकाले उनलाई मारियो ।
भीमसेन थापा जस्ता देशभक्त र दूरदर्शी प्रधानमन्त्री अनि अमरसिंह थापा, भक्ति थापा र बलभद्र कुंवर जस्ता देशभक्त र वीर कमाण्डर (योद्धा)हरु भएको बेला पनि गोर्खाली बहादुर सेनाद्वारा अङ्ग्रेजसङ्गको लडाइँ हारिनु, नेपालको ठूलो भूमि गुमाएर कमजोर र अपमानित हुनु र अझ उनीहरुकै छत्रछायाँ र दयामायामा बस्ने र बाँच्ने निरीह नेपाल गराइन खोज्नु देशकै इतिहासमा सबैभन्दा ठूलो दुःखद विडम्बना हुन गयो ।
अङ्ग्रेजसँगको उक्त लडाइँ नेपालले हार्नुको प्रथम कारण तत्कालीन भाइभारदारहरुमा रहेको आवेग र प्रतिशोध नै भएको कुरालाई स्वीकार्दै डा. प्रेमसिंह बस्न्यात भन्छन्,
दरबारमा निर्णायक शक्ति राजा गीर्वाणयुद्ध विक्रम शाह नाबालक थिए । त्यसपछिको शक्ति भाइभारदारहरू थिए । मुख्य रूपमा बस्न्यात, पाँडे र थापा खलकबीचको गुट, मारकाट र षड्यन्त्रका कारण राजनीतिक स्थिति भयावह थियो । राजा रणबहादुर शाहको हत्यापछि नवउदीयमान शक्तिका रूपमा मुख्तियार काजी भीमसेन थापाको बोलवाला शुरू भयो । राज्य संचालनको विषयमा पुराना भारदारसँग उनको धेरै मतभेद हुन्थ्यो । सोही क्रममा अंग्रेजसँग युद्ध गर्ने या नगर्ने विषयमा विवाद भयो । पुराना भारदारहरू विशेष गरी हातहतियारको अभाव भएकाले युद्धको विपक्षमा थिए । तर भीमसेन थापा भने युद्ध गरी अंग्रेजलाई तह लगाउने पक्षमा रहे । अन्ततः युद्ध गर्ने नै निधो भयो । राष्ट्रिय तहको युद्धमा जाँदा भारदारबीच कार्यगत एकता नहुनु ठूलो कमजोरी थियो ।
त्यसपछि भएका कोतपर्व र भन्डारखाल पर्व पनि यस्ता घटना हुन्, जसमा एकातिर रानी राज्यलक्ष्मी शाहको हातबाट सम्पूर्ण अधिकार खोसी उन्लाई देशै निकाला गरिएको थियो र प्रधानमन्त्री फत्तेजङ्ग शाहको त झन् हत्या नै गरिएको थियो । यहींबाटै तानाशाह जङ्गबहादुर राणाको उदय भएको थियो । यसले गर्दा नेपाल निर्माता राजा पृथ्वीनारायण शाहको वंशगत शासनसत्तामा प्रधानमन्त्रीको रुपमा स्वघोषित श्री ३ सरकार चलाउँदै राणाहरु हावी भए भने राजाहरु श्री ५ भएरै पनि निरीह वन्दीजस्तै हुन पुगे । फलस्वरुप नेपाली जनतालाई सन् १९५० सम्म १०४ वर्षे जहाँनिया निरङ्कुश राणाहरुको हुकुमी शासनको शोषण र दमनको दुश्चक्रमा पिसिनु पर्यो ।
यस्तै आपसी आग्रह र दुराग्रह, आशंका र अविश्वास, आवेग र आक्रमणजस्ता घातप्रतिघात र अन्तरघातका कारणले नै राणाशासनको अन्तपछि नेपाली काङ्ग्रेसका नेता वीपी कोइराला र मातृका कोइरालाका दुईभाइकै बीचमा चर्को वैमनस्यता हुँदाहुँदै अन्ततः काङ्ग्रेसमै आपसी इबि र प्रतिशोध बढ्यो । यसै झगडाका बीचमा चतुर राजा महेन्द्र खेल्न सके र फलतः भर्खरै स्थापित बहुदलीय प्रजातान्त्रिक व्यवस्था र प्रथम जननिर्वाचित वीपी सरकार दुवै एकैसाथ राजा महेन्द्रको कूको कोपभाजनको सिकार बने र देशमा पंचायती निर्दलीय निरङ्कुश व्यवस्थाको आगमन भयो । यसबाट देश र जनताले ३० वर्षसम्म तानाशाही व्यवस्थाद्वारा सिर्जित दुःख र कष्टको कालरात्री बेहोर्नु पर्यो ।
पंचायतमै पनि पंचे शासकहरुका बीचमा पद र प्रतिष्ठाको छिनाझपटीका कारण थापा गुट र चन्द गुटको परस्परमा भएको आपसी द्वन्द्वले गर्दा पंचायत कमजोर भयो र पंचायत व्यवस्था नै ढल्यो । २०४७ मा बहुदलीय संसदीय व्यवस्था पुनस्थापना भएपछि पनि यी दुई पंचे गुटबीचको आपसी वैमनस्य र प्रतिशोध यहाँसम्म पुग्यो कि थाप पक्ष काँग्रससँग मिलेर र चन्दपक्ष एमालेसँग मिलेर एकले अर्काको तेजोवध गर्ने र साटो फेर्नेमै तल्लीन रहे । त्यो आवेग र प्रतिशोधको भावनाले गर्दा नै राजावादी र हिन्दुवादी जस्ता समान विचार र लक्षका भएर पनि पंचहरु टुक्राटुक्रामा विभक्त भए ।
यसरी अहिले धेरै कमजोर भएपछि पुनः मिल्ने प्रकृयामा केही शक्तिहरु लागे पनि त्यो प्रतिशोधको भावना मिल्न नसक्दा उनीहरु पुनः फुटको संघारमा छन् । २०४७ पछि पुनस्थापित संसदीय व्यवस्थामा बनेको नेकाको एकल बहुमतको गिरिजा कोइराला नेतृत्वको सरकारमा पनि चौहत्तरे र छत्तिसे गुटहरुका बिचमा तीव्र गुटबन्दी, अन्तर्कलह र अन्तर्घात हुँदा सहज बहुमतको गिरिजा सरकार ढल्न पुगेको थियो । तत्पश्चात् त काङ्ग्रेसमा गिरिजा काङ्ग्रेस, देउवा काङ्ग्रेस र जगन्नाथ काङ्ग्रेस गरी तीन टुक्रा हुनेगरी फुट नै भयो र ओरालो यात्रामा गयो ।
अहिले तीन वर्ष अघिमात्रै एकताको उद्धेश्यले संयुक्त मोर्चा बनाएर संसदीय चुनाव लड्दा झण्डै दुईतिहाइ मत पाएर बलियो सरकार र शक्तिशाली पार्टी हालको नेकपा (एमाले-माओवादी)को एकल बहुमतको दुईतिहाई जतिको सरकार बनाएपछि पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली र ओली पक्षसँग अकौ अध्यक्ष पूर्वप्रधानमन्त्री प्रचन्ड र वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाल र प्रचण्डनेपाल पक्षका बीचमा पद र शक्ति प्राप्तिको लागि भएको आपसी अन्तर्कलह र आरोपप्रत्यारोपकै कारण शक्तिशाली नेकपा फुटेको छ भने दुईतिहाइ नजिकको बलियो सरकार ढलेको छ ।
एमालेकै ओली नेतृत्वको हालको सरकार पनि माधव समूहको खुल्लै चुनौतीले गर्दा खस्ने डिलमा पुगेको छ । मदन भण्डारी र जीवराज आश्रृत जस्ता देशभक्त, जनवादी र समग्र सुधारवादी खम्बाको दिनदहाडै हत्या गरिएकोमा पनि थोरैधेरै यसै पद र शक्ति प्राप्तिप्रति पदलोलूप र पापी नेताहरुको प्रतिस्पर्धा र प्रतिशोधले काम गरेको आम जनविश्वास छ ।
त्यो भन्दा पनि अझ ठूलो र गम्भीर घटना नारायणहिटी दरबार हत्याकाण्ड भएर तत्कालीन राजा वीरेन्द्रको वंश नै विनास गरिनुमा पनि त्यसपछि नयाँ राजा बनेका ज्ञानेन्द्रको र नेपाली सेनाका सेनापती लगायतका आफ्नै मानिसहरुको कहिँपनि र कत्तिपनि हात छैन भन्नेमा जनता विश्वस्त छैनन् । तिनै संवैधानिक राजा ज्ञानेन्द्रले कू गरी आफू कार्यकारी राजा बनेर हाली मुहाली गर्न खोज्नुमा पनि जननिर्वाचित प्रधानमन्त्री र उनको दलसँगको असमझदारी, इख र प्रतिशोधको दुर्भावनाले काम गरेको थियो ।
यति मात्र होइन, नेपाली काङ्ग्रेसभित्रको चर्को अन्तर्विरोध र लुछाचुँडीका कारण देउवाले हालीमुहाली गर्नुभन्दा राजैले गरोस् भन्ने देउवा विरोधी काङ्ग्रेसी नेताहरुमा रहेको इगोले पमि काम गरेको थियो । पछि तिनै राजा पनि देशमा गणतन्त्रको घोषणापछि राष्ट्राध्यक्षबाट खोसिएर पूर्व राजा बनाइनु अनि चुपचाप लागेर दरबारबाट निकालिनुमा पनि शक्ति केन्द्रहरुको समेत चलखेल, जालझेल र षड्यन्त्र पनि एउटा कारण रहेको छ ।
यस घटनाप्रति नेकाँका संस्थापक सन्त नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको तीव्र असन्तुष्टी हुँदाहुँदै पनि गिरिजादेउवाहरुले भट्टराईलाई तल पार्न पनि राजतन्त्र फाल्ने काम गरे । त्यसपछि त यही विषयमा असहमति र असन्तुष्टि जनाएर भट्टराईले पार्टी छोडेर सन्यास नै लिए । त्यसो त गिरिजाले आफू प्रधानमन्त्री हुन र शक्तिशाली बनिरहनको लागि २०४८ को निर्वाचनमा पनि अन्तर्घात गराएर भट्टराईलाई हराएका थिए र पछि गणेशमान जस्ता क्रान्तिकारी, साहसी र त्यागी नेतालाई समेत अन्ततः पार्टी र राजनीतिबाटै सन्यास लिन बाध्य पारेका थिए ।
यस्तै देशमा आमूल परिवर्तनको लागि भनेर दस वर्षसम्म भीषण जनयुद्ध लडेर आएको महान् र शक्तिशाली माओवादी क्रान्तिकारी पार्टी आज दसौं टुक्रामा विभाजित हुनुमा पनि प्रचण्डसँग पार्टीका अन्य मुख्य नेताहरु मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई , रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लव’, गोपाल किराती ‘साहिंला’ आदि नेताहरुसँग आपसी अन्तर्विरोध, अन्तरद्वन्द्व र अन्तर्घात जस्ताआवेग र प्रतिशोधपूर्ण भावनाले काम गरेको स्पष्ट छ । स्मरणीय छ कि जिन्दगी भरी बाबुराम र किरणजीको बीचमा संशोधनवादी र जडसूत्रवादी भन्दै एकले अर्कालाई आरोप-प्रत्यरोप गर्दै आएका यी दुई भिन्न धारा र प्रवृत्तिका नेताहरु पनि प्रचण्डलाई साइजमा ल्याउने र ठिक गर्ने आवेग र प्रतिशोधमा आएर प्रचण्डविरुद्ध एक भै कुख्यात धोवीघाट भेला गरेर बाबुरामलाई प्रधानमन्त्री बनाउन बादल, विप्लव, नारायणकाजीहरुले कसरत गरेका थिए र त्यो भिन्न प्रकारले सफल पनि भएको थियो ।
यो अराजनीतिक, अनैतिक निर्णय हुन्छ, यस्तो आवेग र प्रतिशोधमा आएर घातक काम नगरौं, भनी यो लेखकले किरण समूहको पोलिटब्युरो बैठकमा जोड गर्दा गर्दा पनि सुनुवाइ भएको थिएन । लामो समयदेखी हुर्कँदै आएको माओवादी भित्रको वैमनस्य त्यतिबेलैदेखि माओवादीमा विभाजन, विखण्डन र विसर्जनको रुपमा विकसित हुँदा आज माओवादी पार्टी, आन्दोलन, वादविचार र संस्कार र संस्कृति सम्पूर्ण रुपले सिद्धिए सरी भएको दुःखदतम अवस्था छ । नेकपा मशाल, एकताकेन्द्र, माओवादी, एमाओवादी, माओवादी केन्द्र, नेकपा र पुनः माओवादी केन्द्र आदि जेजति र जस्ता रुप र नामका पार्टीहरु बने-बनाइएपनि ३५ वर्षसम्म अविच्छिन्न प्रमुख नेता र कमाण्डर रहिआएका प्रचण्डको आज घर न घाटको स्थिति भएको छ भने २०२८ सालको केन्द्रीय न्युक्लियसदेखि ०३१ को चौथो महाधिवेशनदेखि एकदिन मुख्य नेता बन्न नपाएमा वा नपाउने अवस्था देखेमा पार्टी फुटाएर (टुक्राएर र सिद्धाएर पनि प्रमुख नेतृत्वमा असि वर्ष नाघ्दासमेत नेतृत्व छोडे पृथ्वी नै घुम्न छोड्छ भन्ने ठानेर अविछिन्न रुपमै मुख्य नेता रहिआउनु भएका कुनै बेलाका नेपाली माओ कमरेड मोहनविक्रम सिंह र करिब त्यस्तै पृष्ठभूमि भएका नेमकिपाका वयोबृद्ध नेता नारायणमान विजुक्छेजस्ता सबैजसो नेपाली कम्युनिस्टहरुका पछिल्लो पुस्ताका नेता र पार्टीहरुका पनि गुरु एवं पहिलो पुस्ताकै यी वरिष्ठतम नेताद्वयको पार्टी पनि छिन्नभिन्न हुँदा संघीय संसदमा एउटाएउटा प्रतिनिधिमै चित्त बुझाउनुपर्ने दुःखद अवस्था भएको छ ।
यसैगरी ऐतिहासिक झापा विद्रोहका हिरो, नख्खु जेल ब्रेकका नायक र एमाले पूर्वज पार्टी कोकेका संस्थापक महासचिव सीपी मैनाली त झन् एक्लेवीर बनेको डायनोसर बन्ने अवस्था छ भने महान नेपाली माओवादी जनयुद्धका वैचारिक प्रवर्तक सिद्धान्तनिष्ठ र स्वच्छ इमान्दार नेता र दार्शनिक मोहन वैद्यको पनि ‘एक्ला बृहस्पति झुठ्ठा’ बनेको दुःखद स्थिति छ । यतिमात्र पनि कहाँ हो र ? आज माओवादी दसौं टुक्रामा विभाजित छ र कतिपय जनयुद्ध थालनीको निर्णयकर्ता वरिष्ठ नेताहरु स्वतन्त्र रुपमा कृयाशील छन् । यी सबै हात्तिपार्टी र हस्ती नेताहरुको आज यो दयनीय अवस्था हुनुमा यही आपसी आवेग र प्रतिशोधको राजनीतिले धेरै हदसम्म काम गरेको छ । हुँदाहुँदा अहिले तत्काल त झन् आपसी रिसइवि साध्न वैदेशिक शक्तिकेन्द्रहरुलाई समेत गुहारेर पार्टीका घोषित प्रमुख दुश्मन, प्रतिस्पर्धीप्रमुखसँग निकृष्टतम अपवित्र गठबन्धन गरेरआफ्ना सहयोद्धसहधर्मीहरुलाई सिद्धाउने निचतम कार्य गर्दै साम्राज्यवादी र विस्तारवादीहरुलाई रिझाउनको लागि कुन पार्टी र नेताले बढीभन्दा बढी दलाली, चाकरी, आत्मसमर्पण र गद्दारी गर्न र देश बेच्न सक्ने भन्नेमा चर्को प्रतिस्पर्धा गरिरहेका छन् । यी सबै शक्ति र तिनका प्रमुखहरुको अनि समग्र देश र सम्पूर्ण जनताको आज यो कन्तविजोग हुनुको अन्तर्यमा विचार र विवेकको होइन, आवेग र प्रतिशोधको राजनीतिले काम गरेकोमा कुनै शंका छैन ।
आज नेपाली राजनीतिमा नेकपा र एमालेकै नेताहरुमा देखिएको ओली भर्सेज प्रचण्ड -माधवबीचको यो लडाइँ अहिलेको पछिल्लो अवस्थासम्मको यो आवेग र प्रतिशोधको राजनीतिले आक्रोश र आक्रमण हुँदै एकले अर्कालाई निषेध र निर्मूलनको अवस्थामा पुराउने गरी फड्को मारेको देखिन्छ ।
यसरी स्पष्ट छ कि, शासन सत्ताका निकटका भाइभारदारहरुका बीचमा आवेग र प्रतिशोधको भावनाको राजनीति हुंँदैनथ्यो भने सुगौली सन्धी गर्नै पर्दैनथ्यो र देश आज २०० वर्षसम्म पनि यसरी अर्ध र नवउपनिवेसको रुपमा वैदेशिक हस्तक्षेप, शोषण र उत्पीडनको सिकार नबन्न सक्थ्यो । यस्तै गरेर राजपरिवारभित्र र अझ राजा र रानीका भारदारहरुका बीचमा बदला र हत्याको भाव हुँदैनथ्यो भने राणा शासनको उदय हुदैन्थ्यो र नेपाली जनताले १०४ वर्ष ‘जङ्गे बोल्यो बोल्यो’ भन्ने मौखिक काननको हुकुमी शासनको कहर काट्नु पर्दैनथ्यो होला । यसरी नै आपसी आवेग र प्रतिशोध अनि निषेध र निर्मूलनको यही चिन्तन र चरित्र वा नीति र नेताका निकृष्ट नियतजन्य चिन्तनप्रवृत्तिका कारणले गर्दा पंचहरु, काङ्ग्रेसहरु वा कम्युनिस्टहरु आपसमा नलडेर एकता, मित्रता र सहकार्यमा लागेको भए नै अहिले मित्र लडे दुश्मन बढे वा भाइ फुटे गवाँर लुटेको अवस्था हुँदैनथ्यो भन्ने कुरा राजपरिवारका भाइभारदारहरु मिल्दा र एकताबद्ध भएर लड्दा नेपाल अहिलेको भन्दा एकतिहाई अझ ठूलो विशाल, स्वतन्त्र, शक्तिशाली र समृद्ध नेपाल बन्न सक्थ्यो भन्ने स्पस्ट हुन्छ भने पंच शासकहरु मिल्दा पंचायतकालमा पनि तुलनात्मक रुपमा राम्रै भएको र नेपाली राजनीतिक दलहरुपनि आपसमा विरोध र प्रतिरोध अनि आवेग र आक्रमणको नीति र प्रवृत्ति त्यागेर आपसमा मिलेर संघर्ष गर्दा निरंकुश पंचायत र राजतन्त्रनै ढल्न र फाल्न सफल भएको यथार्थ छर्लङ्ग नै छ ।
तर, दुःखद विडम्बनाको कुरा आज राजनीतिक व्यक्तिहरु आफ्नै संस्थाभित्र र राजनीतिक शक्तिहरु आपसमै असहिष्णु र निषेधात्मक बनेर उछिना पाछिन र सत्तालिप्साको राजनीतिबाट प्रेरित भएर आपसमा लड्न खोज्दा आफ्नै संस्था र राष्ट्रको अनि आफ्नै मातृभूमि र जनताको, आफै प्रतिबद्ध क्रान्ति र मुक्तिको अनि शान्ति र समृद्धिको कुरा सर्वाधिक अस्तव्यस्त र ध्वस्तत्रस्त भएको छ । तर पनि यसैमा सबैजसो नेताहरु र तिनका झोलेचम्चेहरुमध्ये केहीले आत्मरति गरिरहेकाछन् भने केहीले मनको लड्डु घिउसित खाइरहेका छन् । अझै पनि शासकहरुमा थोरै पनि विवेक र बुद्धि भएमा वा पलाएमा र निर्मम आत्मसमिक्षा गरी आवेग र प्रतिशोध अनि निषेध र निर्मूलनको कपटी नियत तिलाञ्जली दिन सकेमा देश, जनता र अँध्यारो सुरुङ तर्फको यो तीव्र गमनलाई रोक्न र मोड्न सकिन्थ्यो कि भन्ने नै लाग्दछ । आवेग र प्रतिशोधको राजनीति त्याग्ने चेतना र समर्पण भया ।
लेखकः नेकपा (माओवादी केन्द्र)का पोलिट्ब्यूरो सदस्य हुन् ।