काठमाडौँ। नेपाली काँग्रेसले बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एज विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्ति फिर्ता लिन र आत्मआलोचना गर्न निर्देशन दिइएको जानकारी दिएका हुन्।
‘पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ ।’ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ भन्दै आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन भनिएको छ। शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ भनेर शर्माको विज्ञप्तिमा भनिएको छ ।
‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन’ भन्दै पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाली काँग्रेसका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा मनोमानी गरेको भन्दै उनका लागि एकजना नाथुराम गोडसे आवश्यक रहेको,अरु कोही गोड्से नबने आफै गोड्से बन्न तयार रहेको एक विवादास्पद अभिव्यक्ति दिएका थिए। नाथुराम गोड्सेले भारतमा माहात्मा गान्धीको हत्या गरेका थिए।