• मंसिर ११ २०८१, मंगलवार

मध्यराति सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण

जेष्ठ २९ २०७८, शनिबार

काठमाडौँ। सामाजिक अभियन्ताको नाममा परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ। शुक्रबार राति सुर्खेत बिरेन्द्रनगर स्थित करेखोला नजिक शाहीको समूहमाथि आक्रमण भएको हो। राति करिव ११ बजे शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले बताएको छ। बिहान सामाजिक संजालमा पोष्ट भएको एक भिडियोमा रुदै ज्ञानेन्द्र शाहीले टाउकोको पछाडी भागमा चोट लागेको आफ्नो सहयोगीलाई प्राथमिक उपचार गरिरहेको देखिएको छ।

सामाजिक संजालको आफ्नो पोष्टमा शाहीले, ‘आफनो ज्यानको नै माया मारी कोभिड बाट लाखौ नागरिक बचाउन लागिरहँदा पनि आफनो ज्यान बचाउन सकिएन सतिले सरापेको देश हो भन्थे हो रहेछ अब त यो देशमा नै बस्न मन लागेन ।’ मध्यराति सुर्खेतमा आफूहरुमाथि ज्यान मार्ने हमला भएको भन्दै आफू सहित सहयोगीहरु राजेश महत, तिलक बस्नेत , नितु खडका ,लोक बहादुर रोकाय ,शान्त शर्मा ,सीता आचार्य ,महेश बि.सि ,खगेन्द्र बजगाईमाथि आक्रमण भएको उल्लेख गरेका छन्।

शाहीको समूह निषेधाज्ञाको समयमा देशका विभिन्न जिल्ला पुग्दै समस्यामा परेकाहरुलाई राहत वितरण गरिरहेको छ भने उद्दार कार्यमा समेत लागिरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शाहीको समूह र स्थानियबीच राति झडप भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीले घटनास्थलमा पुगेर उद्दार गरेको छ।

आक्रमणमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शाहीमाथि सुर्खेतमा भएको यो आक्रमण तेस्रो हो भने उनको समूहको उपचार कर्णाली प्रदेश अस्पतालमा भएको छ।

उता ज्ञानेन्द्र शाहीले सुर्खेतमा एक पत्रकार सम्मेलन गर्दै आफूहरुको कसैसंग झडप भएको नभएर आफूहरुमाथि आक्रमण भएको बताएका छन्। कर्णाली प्रदेश सरकारको योजनामा आफूहरुलाई आक्रमण भएको उनले आरोप लगाएका छन्।