• मंसिर ११ २०८१, मंगलवार

संविधान र लोकतन्त्र बचाउने जिम्मेवारी दलहरुकै भएको सर्वलीय बैठकको निष्कर्ष

जेष्ठ २८ २०७८, शुक्रबार

काठमाडौँ। सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय  बैठकमा सहभागी नेताहरुले नेपालको संविधान र लोकतन्त्र गम्भीर संकटमा परेकोले त्यसलाई आफूहरुले बचाउनुपर्ने निष्कर्ष निकालेका छन्। बैठक पछि पुर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिनिधी सभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनैतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए।

उनले भने, ‘पटक पटक संसद विघटन भएको छ सर्वदलीय बैठकमा यसबारे साझा चिन्ता व्यक्त भयो। कोरोना महामारी चर्किएको छ,खोप व्यवस्थापना हुन् सकेको छैन, यो बिषयमा हामी सबैको एउटै मत रह्यो।’ सभामुखद्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी नेताहरुले चुरे लगायतका क्षेत्रबाट बालुवा, ढुङ्गा, गिट्टी निकासी गर्ने सरकारको निर्णय गलत रहेको ठहर गरेका छन्।

नेता डा.भट्टराईका अनुसार संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएका छन्। ‘सभामुखलाई लोकतन्त्रको पक्षमा घचघच्याउनुस,लोकतन्त्र बचाई राख्नुस भनेर हामीले सुझाव राख्यौं।’ डा. भट्टराईले भने।

सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि विकसित राजनैतिक परस्थितिका बारेमा पुर्व प्रधानमन्त्रीसहित दलका नेताहरुसंग छलफल गरेका हुन्। यस अघि उनले कानुनविदहरुसँग पनि छलफल गरेका थिए।