• फाल्गुन २६ २०८२, मंगलवार

ओली सरकारले कहिले पूर्णता पाउँछ ?

जेष्ठ २६ २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले यहीँ जेठ २१ गते मन्त्रिमण्डल पुनर्गठन गरेको छ । मन्त्रिमण्डल पुनर्गठन भएसँगै एमाले र जनता समाजवादी पार्टी (जसपा) मिलेर सरकार चलाउने भएका छन् ।

पहिलो पटक संसद् विघटन भएयता अल्पमतमा परेको ओली सरकारले बारम्बार मन्त्रिमण्डल पुनर्गठन गर्दै आएको छ । त्यसयता कामचलाउमा परिणत भएको सरकारले यहीँ जेठ २१ गते पुनः मन्त्रिमण्डल गठन गरेको छ । तथापि उसले अहिलेसम्म पूर्णता भने पाउन सकेको छैन ।

सरकारलाई पूर्णता दिनका लागि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गरि जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो (महन्थ–राजेन्द्र) समूहलाई साथमा लिएर मिलिजुली सरकार चलाउने भएका छन् । त्यसका लागि ओलीले उपप्रधानसहित आठ मन्त्री र दुई राज्यमन्त्री गरि १० मन्त्रीपद जसपाको भागमा थमाएर सरकारमा सामेल गराएका हुन् । वरिष्ठ नेता राजेन्द्र महतो भने उपप्रधान तथा सहरी विकासमन्त्री बनेका छन् ।

ओलीले जसपालाई समेटेर सरकार गठन गरेपछि एमालेबाट ६ जना मन्त्री छन् । उनीहरू अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री रघुवीर महासेठ, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ हुन् ।

त्यसबाहेक ओलीले गृह, रक्षा, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरणसहित ७ मन्त्रालय आफैले राखेका छन् । उनले यी ७ मन्त्रालय आफैले राखेपछि मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो । त्यसका लागि प्रधानमन्त्री ओलीले केही दिनमै मन्त्रिमण्डललाई थप बिस्तार गर्ने तयारी गरेको स्रोतले बतायो ।

ओली आफैले ७ मन्त्रालय राख्नुको कारण एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) समूहसँगको विवाद समाधान गरि उसको भागमा ७ मन्त्रालय थमाएर सरकारलाई पूर्णता दिने रहेको कतिपयको अड्कल छ । उनले एकताका लागि भन्दै चार दिन पहिले ६ बुँदै प्रस्ताव आह्वान गरे । तर, त्यसका लागि नेपाल–खनाल समूहले अस्वीकार गरेको छ ।

यद्यपि एकताका लागि भन्दै एमाले दोस्रो तहका नेताहरू वार्ताका लागि छलफलमै छन् । हिजो मात्रै राजधानीको एक होटलमा उनीहरूले एक घण्टा लामो छलफल गरेका छन् । छलफलमा सहभागी नेताहरूले छलफल सकारात्मक भएको बताएका छन् । यद्यपि हालसम्म पार्टी एकताका लागि ठोस निष्कर्ष भने निस्किन नसकेको स्रोत बताउँछ । यदि एकताका लागि ठोस निष्कर्ष निस्किए प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल बिस्तार केही दिनपछि टुंगोमा पुर्याउने छन् भने नेपाल–खनाल समूहलाई पनि साथमा लैजाने छन् । तर, यो तत्काल सम्भव नदेखिएको एमाले दुवै समूहका नेताको भनाइ छ ।

प्रधानमन्त्री ओलीले तत्काल एकता सम्भव नदेखेपछि मन्त्रिमण्डललाई पूर्णता दिने ध्याउन्नमा लागेको बालुवाटार स्रोत बताउँछ । जेठ २१ गतेको मन्त्रिमण्डल बिस्तार गर्दा पूर्वमाओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरूलाई समेटेका छैनन् । अब विस्तार हुने मन्त्रिमण्डलमा उनीहरूलाई पनि समेटेर लैजाने ओलीको तयारी छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्काएपछि ओलीलाई साथ दिएका पूर्वमाओवादी केन्द्रका नेतालाई रिक्तमन्त्री पदपूर्ति गर्न ओली तयार भएका छन् । यद्यपि यसअघि मन्त्री बनेकाहरू यो पटक दोहोरिने सम्भावना न्यून छ । किनकि यसभन्दा पहिले पूर्वमाओवादीका नेताहरू रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु शाह, मणि थापा र दावा लामा तामाङसहित ७ जना मन्त्री थिए ।

तर, अब गठन हुने मन्त्रिमण्डलमा पूर्वमाओवादी केन्द्रका नेताहरू राष्ट्रियसभामा पराजित भएका चन्द्रबहादुर खड्का, ज्वाला शाहलगायत अन्य पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार मन्त्रीका लागि भने अहिले नै नामावली तयार भैसकेको छैन ।