• चैत्र २६ २०८१, बुधबार

दमन बढेपछि बर्मेली जनता जंगलतिर पलाएन, राष्ट्रसंघले गर्यो चिन्ता व्यक्त

जेष्ठ २६ २०७८, बुधबार

सेनाको बर्बरतापूर्ण आक्रमण बढ्दै गयपछि म्यानमारका जनताहरु घर छोडेर जंगल र ओढारमा बस्न पुगेका छन्। म्यान्मारको काया राज्यका जनताहरु घर छाडेर हिँडेका छन् । कतिपय मानिसहरु जंगलमा निर्वासित भएका छन् ।

ती मानिसहरु भोकमरी र रोगका कारण सामुहिक रुपमा मर्नसक्ने चिन्ता संयुक्त राष्ट्रसंघका एक विज्ञले व्यक्त गरेका छन् । म्यान्मारस्थित राष्ट्रसंघका विशेष प्रतिनिधि टोन एन्ड्रियुजले विज्ञप्ति जारी गर्दै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायले तत्कालै कदम चाल्नुपर्ने बताएका छन् ।

म्यानमारको सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएपछि काया राज्यका हजारौं पूरुष, महिला र बालबालिकाको ज्यान खतरामा रहेको उनले बताए । विज्ञप्ती जारी हुनभन्दा केही घण्टाअघि मात्रै म्यान्मारस्थित राष्ट्रसंघको कार्यालयले हिंसा र आक्रमणका कारण कायाबाट झन्डै १ लाख मानिस बिस्थापित भएको बताएको थियो । उनीहरुमध्ये केही छिमेकी सान राज्यको दक्षिणी भूभागमा त केहीले जंगलमा आश्रय लिइरहेको राष्ट्रसंघको कार्यालयले जनाएको थियो ।

बम बिस्फोट र आक्रमणको चेपटामा परेर भागेका यी मानिसहरुले खाद्यान्न, खानेपानी, आश्रयस्थल, इन्धन र स्वास्थ उपचारको खाँचो भोगिरहेको राष्ट्रसंघको कार्यालयले जनाएको छ । सैनिकले सत्ता हत्याएपछि म्यान्मारमा तनाव बढिरहेको छ । सीमा क्षेत्रभित्र सेना र हतियारधारी अल्पसंख्यक दस्ताहरुबीच लडाँइ चलिरहेको छ ।

मानवअधिकारवादी समूहहरूका अनुसार सैन्य ‘कू’ पछि कम्तिमा ८ सय ४९ जना मानिसहरु सुरक्षाकर्मीद्वारा मारिएका छन् । त्यस्तै ५ हजार ८ सयभन्दा धेरै मानिस बन्दी बनाइएका छन् । मे २१ मा काया राज्यमा सुरक्षाकर्मी र करिन्नी पिपुल्स डिफेन्स फोर्स (केपिडीएफ) बीच लडाइँ सुरु भएको थियो ।

त्यसयता सेनाले यहाँ विद्रोहीको तिव्र रुपमा आक्रमण गरिरहेको स्थानीय बताउँछन् । सेनाको बर्बरता बढ्दै गएपछि मारमा परेका सर्वसाधारण घर छाडेर भाग्न बाध्य छन् ।