काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा अन्तिम समयमा खोप पाउने नागरिकको उमेर समूहमा परिवर्तन गरिएको छ ।
मंगलबारबाट उपत्यकासहित देशभर शुरु हुन लागेको
कोरोनाविरुद्ध दोस्रो चरणको पहिलो मात्रा (डोज) लगाउन यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ६० देखि ६४ वर्ष उमेर समूह छनोट गरेको थियो । तर, खोप शुरु हुनुभन्दा एक दिन अघि यस उमेर समूहमा केही परिवर्तन गरिएको स्वास्थ्य मन्त्रालयका सहायक सूचना अधिकारीले बताए ।
खोप लगाउने नागरिकको सङ्ख्या बढ्न सक्ने भएपछि अन्तिम समयमा उमेर समूहमा परिवर्तन गरिएको बुझिएको छ ।
शुरुमा ६० देखि ६४ वर्ष उमेरका सबै नागरिकलाई खोप लगाउने भनिएको थियो । तर, अहिले उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्षका खोप दिइने भएको छ ।
सरकारले मंगलबारबाट देशभर कोरोनाविरुद्ध खोप अभियान चलाउँदैछ । चीन सरकारले अनुदानममा उपलब्ध गराएको भेरोसेल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिलो मात्रा लगाउन लागिएको हो ।