• फाल्गुन २६ २०८२, मंगलवार

केपी ओलीले देशलाई अध्यारो सुरुङतिर धकेल्दै छन: डा.भट्टराई

जेष्ठ २४ २०७८, सोमबार

गोरखा। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तीले देश अध्यारो सुरुङतिर धकेलिंदै गएको गएको धारणा व्यक्त गरेका छन्। ओली सच्चिने अवस्था नरहेकोले जनबलबाट उनलाई परास्त गर्नुपर्ने डा.भट्टराईले बताए। सोमबार आफ्नो गृहजिल्ला गोरखामा पत्रकारहहरुसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन्।

भट्टराईले भने,’केही समय अघि म आफैले उनलाई भेटेर राष्ट्रिय सहमतीको सरकार बनाउँ, संविधान संशोधन, मधेशी, थरुहट लगायतका मुद्धामा सहमती बनाएर जाउँ भने तर उनले टेर पुच्छर लाएनन्।’  बिदेशी प्रतिगमनकारी तत्वहरुसँग मिलेर ओलीले देशलाई गम्भीर संकटतर्फ धकेल्ने प्रयत्न गरिरहेको भट्टराईले आरोप लगाए। बाहिर नक्कली राष्ट्रवादको कुरा गरेर, भ्रम छरेर बाह्यशक्तिसँगको साँठगाँठमा प्रधानमन्त्री ओली गणतन्त्र परास्त गर्ने खेलमा लागेको उनको आरोप छ।

‘प्रतिगमनकारीले अध्यारो कोठाभित्र बसेर जुन तानाबाना बुनेका छन्, पुरै सेटिङमा राज्यका सबै अङ्ग कब्जा गरी ध्वंस गर्ने योजना सफल पार्ने जुन सपना देखेका छन् हामि सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्छ,’ उनले भने।

अहिलेको राजनीतिमा सतहमा देखिएका भन्दा भित्रि कुराहरु अलि गम्भीर भएको भन्दै पाँच पार्टी मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने धारणा डा.भट्टराईले व्यक्त गरे।