• मंसिर ११ २०८१, मंगलवार

भारतमा कोरोना संक्रमितको संख्या स्वाट्टै घट्यो

जेष्ठ २४ २०७८, सोमबार

नयाँदिल्ली । आइतबार भारतमा पछिल्लो दुई महिनायताकै सबैभन्दा कम कोरोनाभाइरसका संक्रमित थपिएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार आइतबार भारतभर १ लाख १ हजार २ सय २३ जना संक्रमित थपिएका छन् भने २ हजार ४ सय ४६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

आइतबार थपिएका नयाँ संक्रमितको संख्या अप्रिल ४ यताकै सबैभन्दा कम हो भने मृतकको संख्या अप्रिल २२ पछि पहिलो पटक २५ सयभन्दा तल झरेको हो । कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला चार सातादेखि देशभरि नै संक्रमण ओह्रालो लागिरहेको छ ।

एक महिनाअघि मे ६ मा भारतमा एकैदिन ४ लाख १४ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा अहिले नयाँ संक्रमितसँगै परीक्षण गरिएकालाई कोरोना पोजेटिभ हुने दर पनि घटेको छ । भारतको केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार अहिले थपिने नयाँ संक्रमितहरूमध्ये दुई तिहाइ पाँच वटा राज्यका मात्रै छन् ।

कोरोनाका नयाँ संक्रमित कम हुँदै गएपछि विभिन्न राज्यहरूले जारी गरेका प्रतिबन्धहरू खुकुलो बनाउन थालेका छन् । विज्ञहरूले भने संक्रमण घटेकाले दोस्रो लहर पिकबाट ओह्रालो लागेको देखिए पनि राज्यपिच्छे फरकफरक अवस्था भएकाले जनजीवन सामान्य बनाउनुअघि सावधानी अपनाउनु पर्ने बताएका छन् । भारतमा अहिलेसम्म २ करोड ८९ लाखलाई कोरोना संक्रमण भएको छ भने ३ लाख ४९ हजारले ज्यान गुमाएका छन् ।