• फाल्गुन २६ २०८२, मंगलवार

प्रधानमन्त्री र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइयो

जेष्ठ २३ २०७८, आईतवार

रुपन्देही । रुपन्देहीको सैनामैनामा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला जलाइएको छ ।

सैनामैना नगरपालिका वडा न.४ मुर्गिया स्थित पुर्व पश्चिम सडक खण्डमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसियल सैनामैना नगरसमितिले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै आइतबार विरोध प्रदर्शन गरेर ओली र महतोको पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको वाईसियल सैनामैना नगरसमितिका अध्यक्ष गोविन्द खरेलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरोध गर्दैै आन्दोलन गर्दै जाने बताइएको छ । पुत्ला दहन गर्नु अगाडि उनीहरुले सरकार विरुद्ध प्रदर्शनकारीले प्रतिगनम मुर्दाबाद,भारतीय दलाल मुर्दाबाद,के.पि ओली देश बेचुवा तथा प्रहरी दमन मुर्दावाद जस्ता नारा लगाएका थिए ।

सो प्रदर्शनमा नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र न.५का भोला बस्याल,माओवादी केन्द्र जिल्ला सदस्य दिपक भण्डारी,तेजेन्द्र सुवेदी,सैनामैना नगर सचिवालय सदस्य दिपक अधिकारी,सदस्यहरु दिपक पछाई,युवा नेता दिपक सुनार तथा वाइसियल नगर सचिब केशब विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

त्यस क्रममा प्रहरी र वाईसियल समूहबीच केही समय धकेला–धकेल समेत भएको थियो। प्रहरीले स्थितिलाई नियन्त्रण गर्दा प्रदर्शनकारी र प्रहरी विच झडप केही समय भएको हो ।