हेमन्त वली, घोराही । नेकपा दाङले कोरोनाका विरामीका कुरुवाका लागि बनाएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बीच सो पार्टीका केन्द्रिय सदस्य बलबहादुर वली ‘शितल’ले व्यानर पढेर प्रतिक्षालय हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै शितलले प्रतिक्षालयको दुरुपयोग नगरी संरक्षणमा जोड दिन अपिल गर्दै कोरोनाको विषम परिस्थितिमा प्रतिक्षालयले विरामी कुरुवाका लागि राहत प्रदान गर्ने बताए । कोभिडका कारण हजारौं नागरिकले ज्यान गुमाउँदा समेत सरकार सत्ता जोगाउन मै केन्द्रित रहेको उनको भनाई रहेको छ ।
उनले संसदीय व्यवस्थाका मतियारहरुले जनताप्रति घात, अन्तरघात, राष्ट्रघात जनताको मतको अपमान र दुरुपयोग गरेको आरोप लगाए । उनले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि प्रगतिशील संयुक्त सरकार गठन गरी जनमत संग्रह मार्फत् व्यवस्था चुन्ने अधिकार जनतालाई दिनु नै सबैखाले संकटको समाधान भएको दावी गरे ।
कार्यक्रममा कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले प्रतिक्षालय निर्माण कार्यले नेकपा जनताप्रति उत्तरदायी प्रमाण दिएको बताए । उनले निर्धारित समय भन्दा पहिले नै निर्माण कार्य सम्पन्न भएकोमा पार्टीलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा मन्तव्य राख्दै प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदमप्रसाद न्यौपानेले कोभिड अस्पताललाई आवश्यक पर्ने प्रतिक्षालय निर्माण गरेर नेकपाले अनुकरणीय र उदाहरणीय काम गरेकोमा धन्यवाद दिए । प्रतिक्षालय निर्माणमा नेकपाका नेता–कार्यकर्ताहरुले श्रमदान गरेका थिए ।
व्यवसायीहरु रामबहादुर खड्का, राजु थापा, गणेश इट्टा उद्योगका भीम, हनुमान इट्टा उधोगका मोहन, देब गुरुङ, हरी केसी, असोद देवकोटा, ट्रष्ट जडानका दुर्गा, टोप बहादुर, अन्जन लगायतले आवश्यक सामाग्रीहरु सहयोग गरेका थिए ।
प्रतिक्षालय कुल १,३०,०००९ रु.(एकलाख तीस हजार) मा निर्माण सम्पन्न भएको युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलक योगीले जानकारी दिए । कार्यक्रममा कोरोना विशेष अस्पताल बेलझुण्डीले प्रतिक्षालय निर्माणको उच्च प्रशंसा गर्दै नेकपालाई सम्मान पत्र प्रदान गरेको छ ।