• मंसिर २० २०८१, बिहीबार

चुरेमात्र किन ?

जेष्ठ २२ २०७८, शनिबार

सुनकोसीमा सुन बग्न देउ
तामाकोसीमा तामा पग्लन देउ
नवलपरासीको फलामखानी नकोट्याउ
मुस्ताङको युरेनियमलाई छोप
स्वाभिमान लिलाम गर
बेइज्जत किन डलरमा
फ्लेबरमा चिनी मिसाएर जुस घुटकाउ
लिचिहरु बोटमै कुहिन देउ
बगैंचामा एउटा पनि आँप नरोप ।

फ्रान्सबाट फर्निचर मगाउ
लाखौंको पलङमा सयन गर
लाखौंको डाइनिङमा भान्छा गर
दैलामुनी खरबारिमा डढेलो लगाउ
सालका रुखहरु सुक्न देउ ।

चुरेमात्र किन ?
यी अग्ला हिमालहरु के काम
ती सेताम्मे हिँउहरु केकाम
भत्काउ बम वर्षा गरेर
होलसेलमा बेच पत्रे चट्टानहरु
अफरमा बेच बरफका ढिक्काहरु
अनि धनी होउ शासक !

तराईमा गहुँ होइन
बिखण्डन रोप
भिडाऊ दाजुभाइ दाजुभाइहरु !
पहाडमा मकै नरोप
रोप नश्लबादका बोटहरु
फलाउ बैरभाभका झुत्ताहरु
हिमालमा स्याउ होइन
रोप विभेदका झ्यालहरु
उमार प्रतिशोधका आकुँराहरु ।

म राम्ररी बुझ्छु
तिमिले खनेको बाटो
फुटेका पैंतालाहरुलाई होइन
बिदेशी बुटहरुलाई हो
ध्रुत सपनाहरु सयरको लागि हो
म बुझ्छु राम्रोसँग तिम्रो विकास
चाँदिको बाटो बनाएर
हिराको व्यापार गर्ने तिम्रो सपना !

२०७८/०२/२१, पोखरा