विदेशमा रहने नेपालीहरुको तन विदेशमा भएपनि मन भने हरपल स्वदेशै हुनेगर्दछ । परिवार, गाउँघर, साथीसंगीहरु सबैसबैको याद आइरहनु स्वभाविक मानिन्छ । सायद कसैलाई पनि विदेशमै जुनी बिताउँछु भन्ने लाग्दैन होला । विदेश जानु र आउनु केहीलाई रहर होला तर धेरैलाई बाध्यताको हो, कारण हो बेरोजगारी । आज नेपाली युवायुवतीहरु खाडीको तातो मरुभूमीमा पैसाको लागि पसिना बगाउन बाध्य छन् । पैसाका लागि उनीहरु जस्तो काम पनि गर्नुपर्ने अवस्थामा छन् । यसको कारण नेपालमा राम्रो अवस्था र व्यवस्था नहुनु नै हो ।
नेपालमा किन र के कारणले बरोजगारी छ ? अरु देशले विदेशी श्रमिकलाई समेत रोजगारी सिर्जना गर्न सक्ने तर नेपालले भने नेपालीलाई मात्रै पनि रोजगारी सिर्जना गर्न नसक्नुको कारण के हो ? यी र यस्ता प्रश्नहरुको जवाफ अबको पुस्ताले खोज्नैपर्छ । पक्कैपनि नेपालमा रोजगारी सिर्जना गर्नको लागि आवश्यक कच्चा पदार्थ, सीप र प्रविधि नभएर होइन । बरु यी सबै वस्तु भएर पनि विदेशीले आफ्नो माल नेपालमा बिकाउनका लागि नेपाली ठूला र ठालूहरुलाई प्रभावमा पारेर नेपालमा वस्तु उत्पादन हुन दिइरहेको छैन । यो कुरा गर्दा धेरैलाई विश्वास नलाग्ला तर यो नै सत्य हो ।
विदेशमा रहेका हामी नै आज जे काम गरिरहेका छौं, नेपालमा पनि सरकारले यही काम गर्ने वातावरण मिलाउन सकेमा के हामी यही काम नेपालमै गर्ने थिएनौं र ? पक्कैपनि गर्थ्यौं । यहाँ आज हामीले गरिहेको काममध्ये पनि विदेशमा आएर गरिने कामका बारेमा सीप र दक्षता नहुँदा कयौंले विदेशमै ज्यान पनि गुमाएका छन् । कति त घाइते भएर न मरिजानु र न गरिखानु भएर घर फर्किएका छन् । गोर्खाली बहादुरहरुको देश भनेर संसारमा चिनिएको नेपालका युवाहरु आज काम र दामका लागि संसारका सबै कुनामा भौंतारिँदै पुग्नुपर्ने भएको छ ।
बहादुरहरुको देश भनेर चिनिएका नेपालीहरु आज काम र पैसाको भिख माग्न विदेशका गल्लीहरु चाहार्दै दगुर्न पर्छ भने के को बहादुर भन्ने र कसरी बहादुरीको इज्जत रहेको मान्ने ? दुई–तीन सय वर्ष अघिदेखि बहादुरको देश भनेर चिनिएको देश नेपाल आज किन संसारको गरिब देशको दोस्रो नम्बरमा छ ? यसको जवाफ अबको पुस्ताले नखोज्ने र त्यसको समाधान दिन प्रयास नगर्ने हो भने भोली त पूर्खाको बहादुरीको गफ पनि लाउने ठाउँ रहने छैन । अबको पुस्ताले यसको कारण खोज्नुपर्दछ ।
विदेश र देशसित जोडिएका प्रसंग धेरै नै छन् । सबैको ब्याख्या गरेर यो सानो लेखमा सम्भव छैन । तर परदेशी भूमीबाट व्यक्त गर्नैपर्ने केही विषय भने अवश्य छन् । श्रीमान विदेशमा हुँदा उता घरमा श्रीमती घर व्यवहार त्यागेर अर्कैसित भाग्छे भने के को इज्जत ?
अलिअलि पैसा कमाउने भएपछि कसैप्रति चासो र मतलव नराख्ने स्वार्थी मन बनाउन पनि विदेशमा कमाएको पैसाले सिकाएको हो, जो एक प्रकारको घमण्ड हो । हाडमासु घोटेर कमाएको २, ४ लाख पैसा खल्तीमा हुँदासम्म बडो फूर्ती लाउने र मै हुँ भन्ने तर भोली कुनै समस्या पर्दा आफन्त नै चाहिने अवस्था पनि आउनसक्छ । विदेशमा बसेर पैसा कमाएकाहरुले धेरै सोचनुपर्ने अवस्था छ । त्यसकारण पैसाको घमण्ड कसैले गर्नु हुँदैन । किन की पैसा आज छ, भोली छैन, तर मानवीय सम्बन्ध बाँचुञ्जेल सबैलाई चाहिन्छ ।
यता आज भोली नेपालीहरु विदेश जानु पर्ने बाध्यताले गाउँबस्ती शून्य मात्र बनाएको छैन बरु नेपाली परिवारमा विखण्डन ल्याएको छ । मानिसहरुका भावनामा चोट पुर्याएको छ । विदेश जानुपर्ने बाध्यताकै कारणले परिवार भताभुङ्ग हुन्छ भने त्यो पैसा कमाएको के काम ? यसको दोष विदेशलाई दिएर उम्कन मिल्दैन । लोकतन्त्र आएपछि यी सबै समस्या समाधान गर्छौं भनेर भाषण गर्ने नेताले यो कुरा बुझ्न जरुरी छ । तर सयौंपटक भोट दिएर पनि जनताको आर्थिक अवस्थामा सुधार ल्याउने गतिलो र भरपर्दो कार्यक्रम ल्याउन नसक्ने नेतालाई भोट दिने बेला अबका जनताले सयपटक सोच्नुपर्छ ।
नेपालीका यी र यस्ता विजोगका घटनालाई सम्हालेर लेख्ने हो भने लामो उपन्यास बन्ला तर पीडा मात्रै देखाएर पनि त काम छैन ।
पछिल्लोचरणमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण लाखौंले ज्यान गुमाए । यो घटना मानवजातिकै लागि चुनौतीको कुरा हो । कोरोनाको पीडाले विदेशमा गएर कमाएर घर चलाउनेहरुका लागि यो समय झन पीडादायी बनिरहेको छ । नेपालीहरु रोजगारीका लागि पुगेका देशहरुमा नै कोरोनाले व्यापार, व्यवसाय सबै लथालिङ्ग भएपछि र बन्दका कारण काम नपाएर यत्तिकै बस्नु पर्दा धेरैले रोजगारी गुमाएका समाचारहरु मिडियामा आइरहन्छन् ।
ऋण गरेर जापान, कोरिया लगायतका देशहरुमा पुगेका नेपालीहरुका पीडा, बाध्यात्मक अवस्थामा आत्महत्या गरेका समाचारहरुले सबैको मन अमिलो बनाउँछन् । पोखिनसक्नु छ विदेशको कहानी । आफू विदेश नआँउदा विदेश जान पाए के के न पैसा कमाउँथेँ भनेर सोचिन्थ्यो तर जब आफै विदेशमा आइयो तब थाहा भयो विदेशमा काम गर्न र पैसा कमाउन कति अफ्ठेरो रहेछ भनेर ।
यतिबेला नेपालमा पनि कोरोनाको महामारीले निकै नै क्षति गरेका समाचारहरु आइरहेकाछन् । विदेशमा रहेका हाम्रा लागि कोरोना महामारी सुरु हुनुभन्दा अघिपनि घरको चिन्ताले सताउँथ्यो नै । डेढवर्ष अघिदेखि फैलिएको कोरोना महामारीले विदेशमा रहेका कर्यौं नेपालीको परिवारमा नराम्रो अवस्था निम्त्याएको होला । सम्पति र पैसा हुँदाहुँदै पनि धेरैको ज्यान गएका समाचारहरु आइरहँदा विदेशमा रहेका उनका आफन्तहरुको मन रुन्छ होला ।
पैसा भएर पनि ज्यान बचाउन सकिएर भनेर चिन्ता लाग्छ होला । तर के गर्नु रोगले सानो, ठूलो, धनि, गरिब केहीपनि भन्दो रहेनछ । विदेशमा रहेका हामीलाई सधै यही कुराले सताइरहन्छ, कतै महामारीले हाम्रो परिवारमा पनि कुनै क्षति गर्ने होकी ? घरबाट कुनै नराम्रो खबर पो आउने होकी भनेर हरक्षण झस्काइरहन्छ । तर सबैले मनोबल उच्च बनाउनु र स्वास्थ्य सकर्तताका मापदण्ड अपनाएर काम गर्नुपर्ने बाध्यता छ ।
हरेक दिन नेपाली मिडियामा नेपालका बारेमा आइरहने समाचारहरुले विदेशमा रहने नेपालीहरुको मनमा एकतमासको धारणा विकास गरिदिन्छ । यताबाट हेर्दा नेपालमा हरेक दिन केही न केही घटना भएकै देखिन्छ । अर्थतन्त्र डामाडोल भइ देश झन गरिबी भएका समाचार सुनिन्छ, पढिन्छ । हरेक दिनजसो नेपाली विदेशमा मर्नुपरेको घटनाले मन खिन्न बनाउँछ । राजनीतिमा नेताहरुको झगडाका भिडियो, समाचारहरु सुन्दा र पढ्दा दिक्क लागिसक्यो ।
समाजमा कोही पनि एक अर्कोप्रति इमानदाररुपमा लागेको देखिँदैन, खाली झगडा, मारामार र काटाकाट गरी आफै आफै बर्बाद भएको देखिन्छ । बलात्कार, ठगी, लुटपाटका घटना त कति हो कति । नेपाली समाजमा भएका यस्ता कुरा आजको मिडियाले आजको आजै देखाइहाल्छ । उहिले जस्तो हालखबर बुझ्न महिनौं लाग्ने चिठीको भर पर्नुपर्दैन । प्रविधि र सूचनाको माध्यमहरुको विकासले आजको सूचना आजै पाउन सकिने भएको छ । विश्वव्यापीरुपमा विकास भएको यो प्रविधिलाई नेपालीले पनि प्रयोग गर्न सके देशको र जनताको प्रगति छिट्टै हुन्थ्यो होला जस्तो लाग्छ ।
विशेषगरी यो समय नेपाली र विश्वकै जनताको लागि कोरोनाबाट कसरी बच्ने होला भनेर चिन्तित भइरहेको समय हो ।
सबैले यतातिर ध्यानदिन जरुरी छ र स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ । सर्वप्रथम कारोनाबाट सबै बचौं, बचाऔं र मानव जीवनलाई सहज बनाऔं । बाँकी मानवका नाताले एक आपसमा गर्नुपर्ने व्यवहार र कर्तव्य त छँदैछ ।
हाल : दक्षिण कोरिया ।