काठमाडौँ। सर्वोच्च अदालतमा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ। नागरिकता सम्बन्धी अध्यादेश विरुद्ध परेका रिटहरुको सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको हो। प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा सम्मिलित छन्।
यो भन्दा पहिले संसद विघटन विरुद्धका रिटहरुको सुनुवाइको लागि संवैधानिक इजलास गठन गर्दा वरिष्ठताक्रम मिचेको भन्दै प्रधानन्यायाधीशको आलोचना भएको थियो। संसद विघटन विरुद्धका रिटहरुको सुनुवाई गर्दा संवैधानिक इजालसमा प्रश्न उठेपछि प्रधानन्याधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
नागरिकता संबन्धी अध्यादेश विरुद्ध सातवटा रिट परेका छन्। मौलिक जरोकिलो पार्टी र अधिवक्ता वीर भद्र जोशी, वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, अधिवक्ताद्वय विष्णुकुमार गिरि र गणेश कुमार शर्मा, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुल बहादुर बोगटी लगायतले अध्यादेश खारेजीको माग गरेर रिट निवेदन दर्ता गरेका छन्।
गत जेठ ९ गते नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी थिइन।