• मंसिर ११ २०८१, मंगलवार

कोभिड संक्रमित श्रीमतीको उपचार नगरेको भन्दै हुम्लामा स्वास्थ्यकर्मीलाई कुटपिट

जेष्ठ २१ २०७८, शुक्रबार

काठमाडौँ। शुक्रबार हुम्लामा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। हुम्लाको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक काली बहादुर बुढामाथि शुक्रबार बिहा करिब साढे आठ बजे कुटपिट भएको हो। स्वास्थ्यकर्मीमाथि कुट गर्ने स्थानिय अमृत रोकाय रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार कुटपिट गर्ने रोकाय शिक्षकसमेत हुन्। उनी गौरिशंखर प्राथमिक विद्यालयमा पढाउँछन्। ‘स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको गम्भिरताबारे हामी बुझ्दैछौं,स्वास्थ्यचौकी परिसरमा कुटपिट भएको भन्ने खबर आएको छ। स्वास्थ्यकर्मीले प्रहरी चौकीमा आएर निवेदन दिनु भएको छ।’ शर्माले भने।

रोकायकी श्रीमती अहिले कोरोना संक्रमित छन्। संक्रमित श्रीमतीको उपचार नगरेको भन्दै कुटपिट गरेको डिएसपी शर्माले बताए। ‘उहाँको श्रीमतीचाहिँ कोरोना पोजिटिभ हुनुभएको रहेछ। त्यसपछि दिनदिनै मेरी श्रीमतीको हेरचाह गरिदिनु भएन भनेर झोक्किएर आएर दुर्व्यवहार गर्‍यो भनेका छन्,’ उनले भने।

घटना भएको  गाउँ पुग्न प्रहरी कार्यालयबाट दुई घन्टा पैदल हिँड्नुपर्छ। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली खटाइएको छ। कुटपिट भए पनि घाइते नभएको प्रहरीले बताएको छ। अहिलेको गम्भीरतालाई मध्यनजरमा राख्दै रोकायलाई कारबाही गर्ने डिएसपी शर्माले बताए। यद्यपी उनी पक्राउ परिसकेका छैनन्।’ विकट ठाउँ हो यो। हतोत्साही हुन्छन्। हत्तपत्त सहयोग पनि पाउनुहुन्न,’ डिएसपी शर्माले भने,’स्वास्थ्यकर्मीको मनोबल गिर्ने काम गर्नेलाई हामी छोड्दैनौं।’प्रहरीले यस घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

कोरोना महामारीको पछिल्लो समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट,हातपात हुन लागेको छ। गत जेठ नेपालगंज भेरी अस्पतालमा चिकित्सक तथा नर्सहरुमाथि हातपात भएको थियो।