• मंसिर ७ २०८१, शुक्रबार

सम्पन्न भएर पनि अभाव झेलिरहेको बरातु गाउँ

जेष्ठ २१ २०७८, शुक्रबार

बरातु, कालीकोट ।

सुरुमा गाउँको वर्णन र मेरा मनका कुरा राख्नु भन्दा अहिले संसारभरी नै कोरोनाको दोस्रो लहर छाइरहेको छ र बजार बन्द हुँदा हाम्रो गाउँका फलफूल कुहिँदै गएका छन् ।

गाउँका किसान भन्छन्, ‘कोही आएर खाएको भए पनि धर्म लाग्दो हो यसरी कुहिनु भन्दा त ।’ तर कतिपय ठाउँमा खाना न पाएर मान्छे मर्दैछन् । विभिन्न ठाउँमा कोभिड अस्पताल छन् । त्यहाँका बिरामीलाई खुवाउनका लागि कसैले आएर यिनी पुलम लगेको भए कति राम्रो हुन्थ्यो होला ।

कर्णाली प्रदेशको कालीकोट जिल्ला खाडाँचक्र नगरपालिका वडा नं ११ मा अवस्थित एउटा टोल को बरातु । यस गाउँमा झट्ट हेर्ने हो भने भौगोलिक अवस्था मिलेको छैन तर यस गाउँको उत्पादन हेर्ने हो भने फलफूल, तरकारी, धान, मकै, कोदो जस्ता सबै कृषि उपज उत्पादन राम्रोसँग हुन्छ ।

आज कालीकोटको मान्म बजारमा मौसमी तरकारी सबै यही गाउँबाट जान्छ तर के गर्नु हाम्रो गाउँका अग्रज नेतृत्व पंक्तिमा रहनु भएका हाम्रा अभिभावकले राम्रोसँग गाउँको अगुवाई गर्न नसकेकोले गाउँ नै पछि परेको छ । धेरै कुराको सम्भावना बोकेको हाम्रो गाउँमा न सडक राम्रो छ, न त बिजुली बत्ती छ, यसका बारेमा न कुनै सरोकारवालाको चासो छ ।

यस गाउँमा कहिले पनि फलफूल र तरकारी खाली हुँदैन । कोही पनि किसानले व्यवसायिक रुपमा खेति नै गरेका छन् । उत्पादन राम्रो हुन्छ तर पनि व्यवसायिक ढंगले अगाडि बढ्न सकेका छैनन् । किन भने किसानको कृषि उपजको उचित बजार व्यवस्था गरिएको छैन । सिंचाइको अभाव झेल्दै आइरहेको बरातु कहिलेसम्म यस्तो व्यथा बोक्नु पर्ने हो, त्यो थाहा छैन ।
अहिलेका युवाहरु भने यस्ता कुरामा निकै चिन्तित छौं । कहिले विकासले गति लिन्छ हाम्रो गाउँ र वडाले भन्नेमा हाम्रो चासो छ । तर के गर्नु हामीलाई र हाम्रो समस्यालाई कसैले वास्ता नै गर्दैन । हामी युवाको नाताले बारम्बार नगरपालिका, वडाअध्यक्ष लगायत सम्बन्धित सबै निकायसँग कुरा पनि गर्छौं, ‘अब गर्छौं’ भन्ने आश्वासन आउँछ तर खै अहिलेसम्म उही पुरानै स्थितिमा गुज्रिरहेको रहेको छ मेरो गाउँ ।

म धेरै समय गाउँमा बस्न पाइन तर यो कोरोनाको बन्दाबन्दीको बेला दोस्रो लहर आएदेखि गाउँमै भएको नाताले गाउँमा भएका उत्पादनलाई कसरी खेरजानबाट बचाउन सकिन्छ भन्ने उपाय खोजी गरिरहेको छु । म एक त यो गाउँको युवा र त्यसमा पनि म कृषि विषय र होटल मेनेजमेन्ट विषय लगेर पढेको हुनाले अब यस गाउँका वस्तुहरु र खेरजान लागेका फलफूल कसरी सदुपयोग गर्न सकिन्छ भने खोजी गर्नेछु ।

मेरो खोजीमा पहिलो कुरा अहिलेको आरुबखडा (पुलाम)लाई सोलार ड्राईमा राखेर सुकाउने, जाम, जेली र रक्सी बनाउने भनेर काम सुरु भइरहेको छ । अब गाउँमा फलफूलको रक्सी बनाउन सकिने देखिन्छ । यसलाई व्यवसायिक रुपमा पनि लैजान सकिन्छ । बजार नभएकोले हाम्रो गाउँमा धेरै फलफूल खेर गइरहेको छ । बजार त छ तर हामी किसानले वस्तुको राम्रो मूल्य पाइँदैन । किन भने तरकारी र फलफूल भारतबाट आउँछ ।

अब यस्ता कुराको समस्यालाई हामीले सजिलै हल गर्नको लागि फलफूललाई सदुपयोग गर्नुपर्छ । जस्तैः जुस, जाम, जेली, अचार, सुकुटी चाना र रक्सी जस्ता अरु परिकार तयार पार्न सकिन्छ जसले गर्दा हाम्रो उत्पादन खेर जाँदैन । यस्तो गरियो भने हामीले सजिलै आर्थिक लाभ लिन सकिन्छ भन्ने कुराको हामी परीक्षण गर्दैछौं ।

अहिले कोरोना लहर चलिरहेको बेला विभिन्न औषधि पसलले भिटामिन ‘सी’ को नाममा विभिन्न औषधि दिँदै आएको पाइन्छ जसले गर्दा अरु नै असर पारेर अहिले बिरामीमा अरु नै समस्या देखिएको पनि पाइएको छ । जस्तै अहिले पहिलो समयमा आँखामा देखिएको ढुसी ।

त्यसैले अहिलेको समय अनुसार पूलाम (आरुबखडा) मा पनि भिटामिन ‘सी’ पाइने भएकोले यस्ता कुराको सेवन गर्न लगाउनु पर्छ किन भने यसको कुनै असर छैन । त्यसैले यी र यस्ता कुरामा हामीले ध्यान दिन जरुरी छ ।