आज बालबालिका भएका हरेक घरमा बोली फुट्न नपाउँदै के खाना खुवाउने बारे धेरैको समस्या हुने गरेको छ । बालबालिकालाई खाना खुवाउन पनि ठूलो संघर्ष गर्नुपर्ने हुन्छ ।
एकजना परिचित व्यक्तिको घरमा जाँदा त्यहाँ कोही ताली पिटिरहेका थिए, कोही गिलासमा चम्चा ठोक्दै थरीथरीका आवाज निकालिरहेको सुनिन्छ भने बच्चा अझै खाना खान नै मानिरहेको हुँदैन । त्यसैले खाना खुवाउने प्रक्रियामा घरका सदस्यहरूले यति धेरै नाटक अथवा अभिनय गर्नु परेको रहेछ ।
बालबालिकाले घरको खाना खान नमान्नुका कारण
– वास्तविक भोकको अनुभव गर्ने अवसर नपाउनाले । किनभने आफूखुसी चाहेको बेलामा भान्सा अथवा स्टोरबाट मन लागेको कुरा झिकेर खान पाउँछन् ।
– खाने समयको निश्चित तालिकाको अभावमा खाना खानलाई निश्चित समय तोकिएको पाइँदैन र आफूलाई मन लागेको बेलामा खाने सुविधा भएको कारणले पनि बिहानको खाजा, दिउँसोको खाना अथवा डिनरको परिपाटीलाई अवलम्बन गरेको पाइँदैन ।
-सधैंभरि एकनासको खाना खुवाउने गर्नाले ।
-बालबालिकाको मागअनुरूपको खाना बनाइदिने गर्नाले ।
– साना-साना बालबालिकालाई आफैंले खाने अवसर र प्रोत्साहन नदिएर ठूलाले खुवाइदिने गर्नाले ।
– बालबालिकालाई घरको परिवारसँगै राखेर नखुवाउनाले । अधिकांश घरमा बालबालिकालाई पहिले नै खुवाएमा हल्का महसुस गर्ने गर्छन् ।
– के कस्ता खानेकुराले शारीरिक अथवा मानसिक विकासमा प्रभाव पार्छ भन्ने सम्बन्धी ज्ञान नभएका कारण मसला र टेस्टमेकर भएका खाना खाँदा भोकलाई मार्छ र खाना खान मन नलाग्ने समस्या बढ्दै जान्छ ।
खाना खान नमान्ने बालबालिकालाई कसरी सहयोग गर्ने ?
– बालबालिकालाई वास्तविक भोकको अनुभवबिना खानाप्रतिको रुचि र स्वाद नहुने भएकाले बजारका तयारी खाना दिनु हुँदैन ।
– जुन बेलामा जसलाई जे मन लाग्यो त्यही खाने आदतलाई निरुत्साहित गरी खाने एक निश्चित समयतालिका बनाएर त्यसलाई सबैले अवलम्बन गर्नुपर्छ ।
– खानाको स्वाद खानेकुरामा भन्दा बढी खाने तरिका र खाने समयको चहलपहल एवं खाने मनस्थितिमा निर्भर गर्छ । तसर्थ बालबालिकालाई पहिले नै खुवाएर काम सिध्याउने मनोवृत्तिलाई त्यागेर पारिवारिक जमघटसँगै बसेर एकसाथ खुवाउने गर्नुपर्छ । यसले खानाको महत्व र आवश्यकताका बारेमा महसुस गराउँछ ।
– सधैंभरि एकैनासको एउटै खाना खाने गर्नाले खाने इच्छालाई मार्न सक्छ । तसर्थ समयसमयमा एउटै खानेकुरालाई पनि विविध तरिकाबाट परिकार बनाएर खाने गर्नुपर्छ । यसले खानाको आकर्षण र स्वाद बढाउँछ ।
– बालविकासको क्रमसँगै उचित तरिकाले परिकार तयार पारेर खुवाउने गर्नुपर्छ । बढ्दै गरेका बालबालिकालाई सधैंजसो जाउलो, खिचडीमात्र खुवाउने गर्दा खानाप्रतिको रुचि हराएर जान्छ ।
– बालबालिकाले माग गरेअनुरूपको खाना बनाइदिने गर्नाले आफ्नो रुचिअनुरूपको खाना नभएको समयमा खाना बहिष्कार गर्ने गर्छन् । तसर्थ सधैंभरि उनीहरूको मागअनुरूप खाना बनाइदिनुभन्दा आफ्नो अनुकूलतालाई पनि बुझाउने गर्नुपर्छ ।