काठमाडौँ। ब्रिटेनका पत्र पत्रिकामा कोरोना भाइरसको नेपाल भेरियन्ट पाइएको भनेर चर्चा थालेको छ। नेपालमा भाइरसका नेपाल भेरियन्ट भएको दाबि गर्दै त्यस्तो भेरियन्टले गर्दा आफ्नो देशका नागरिकलाई कहाँ गएर बिदा मनाउने भन्ने चिन्ता बढेको त्यहाँका संचार माध्यमहरुमा कभर स्टोरी छापिएका छन्। त्यहाँको पत्रिका डेलीमेलमा बिहीबार डेभिड चर्चिल र एलेनोर हेवार्डको बाइलाइनमा एक्सक्लुसिभ रिपोर्ट भन्दै नेपालमा कोरोना भाइरसको नेपाल भेरियन्ट देखिएर ब्रिटेनका नागरिकलाई खतरा भएको भन्दै त्यहाँका वैज्ञानिकहरुले आफ्नो देशको मन्त्रीलाई एलर्ट गराएको लेखेका छन्।
नेपालको भाइरस युरोपसम्म प्रसार भएर बिदा मनाउना विदेश जानेहरुलाई खतरा दबाद भएको उनीहरुले लेखेका छन्। डेलीमेलको त्यो समाचारलाई त्यहाँका अरु अनलाइन पत्रिकाहरुले समेत त्यस्ता सामग्री प्रसार गरेका छन्। कोरोना भाइरसको नेपाल भेरियन्टले गर्दा ब्रिटेनका नागरिकहरुलाई बिदेश यात्रामा चुनौती भनेर त्यहाँका समाचार मध्यममा बताइएको छ।
तर विश्व स्वास्थ्य संगठन भन्छ होइन
तर विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भने नेपालमा कोरोना भाइरसको कुनै नयाँ प्रजाती अर्थात भेरियन्ट नपाइएको बताएको छ। डब्ल्युएचओको नेपालको कार्यालयले बिहीबार नै एक ट्विट गर्दै भनेको छ,’नेपालमा कुनै नयाँ प्रजातीको कोरोना देखिएको छैन। उसले भनेको छ, ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन ।’
नेपालमा रहेका कोरोना भाइरसका तीनवटा भेरियान्ट अल्फा (बी.१.१.७),डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) रहेकोमा ति तीनवटा भेरियन्टमध्ये नेपालमा सक्रिय रहेको डेल्टा (बी.१.६१७.२) मात्रै रहेको विश्व स्वास्थ्य संगठनको दाबि रहेको छ। उसले भनेको छ,’नेपालमा रहेका भेरियन्टहरु Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट Delta (B.1.617.2) हो ।’