काठमाडौं । कोरोना खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको पहलमाथि प्रश्न उठाएकोमा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुनासो व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले भने यस्ता टिप्पणीहरु देख्दा बडो बिरक्त पनि लाग्ने बताउदै आलोचना गर्नेहरुलाई उनको प्रश्न गरेका छन् – ‘अहिले मान्छेको जीवन रक्षा ठूलो कुरा हो कि अरु ?’ । उनले भने, ‘राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो । संविधानको रक्षक र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकता अनुसार आफ्नो हैयिसतलाई प्रयोग गर्नु हुन्छ ।’
आलोचना गर्नेहरुले खोप ल्याएर नागरिकहरुको जीवन रक्षा गर्नु ठूलो हो भन्ने न्यूनमत मानवीयता समेत नराखेको उनले बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘ती नेता, जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नु भएको छ, (हात जोडेर) मेरो प्रार्थना छ, उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् । उहाँहरुको नातापाता, सरसम्बन्ध कसैलाई पनि त्यस्तो नहोस् ।’
राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन सम्वाद गरेकी थिइन् भने भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई केही दिन अघि पत्रचार गरेकी थिइन् । राष्ट्रपतिको यो प्रयत्नलाई कतिपयले अस्वभाविक सक्रियता भन्दै आलोचना गरेका छन् ।