काठमाडौं । नेकपा (एमाले) एकता जोगाउन दुवै समूहका नेताहरू सक्रिय बनेका छन् । पार्टी फुटबाट जोगाउन ओली–नेपाल समूहका दोस्रो तहका नेताहरू पुनः सक्रिय बनेका हुन् ।
सोमबार दुवै समूहका नेताहरूले करिब चार घण्टा लामो अनौपचारिक भेटवार्ता गरेका छन् । उक्त भेटवार्ताको क्रममा पार्टी एकताबारे छलफल भएको एमाले नेता घनश्याम भुषालले बताए ।
भेटवार्तामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी थिए । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी थिए ।
सहभागी एक नेताका अनुसार, ‘आफूहरूको भेटवार्ता अनौपचारिक भए पनि लामो समय छलफल गरेका छौँ । भेटवार्ता पार्टी भित्रको आन्तरिक विवादका बारेमा भएको छ । हामीबीचको छलफल सार्थक भए पनि यस बारेमा आफ्ना नेताहरूलाई जानकारी गराउने छौँ । हाम्रो मुख्य बटम लाइन भनेको पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनु हो ।’
यसअघि एमाले भित्रको विवाद समाधान गर्न दुवै समूहबाट ५/५ जनाको एउटा कार्यदल गठन भएको छ । यद्यपि यो कार्यदलले आजसम्म बैठक बसाल्न सकेको छैन । उसले बैठक बसाल्न नसके पनि यसबीचमा उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोख्रेलले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल निवासमै पुगेर अनौपचारिक भेटवार्ता गर्दै आएका छन् । तथापि नेपाल–खनालसँगको भेटवार्तामा के विषय उपर छलफल भएको हो, सो बारेमा पोख्रेलले आजसम्म खुलाएका छैनन् ।
स्रोतका अनुसार, ‘नेपाल–खनालसँग ईश्वर पोख्रेलले गरेको अनौपचारिक भेटवार्तामा दुवै नेताले एमाले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन अडान राखेका छन् ।’ तर, पार्टीलाई जेठ २ कै संगठनात्मक संरचनामा फर्काउन भने ओली तयार नभएको बुझिएको छ ।जेठ २ कै संगठनात्मक संरचनामा नफर्काउन ओलीले अड्डी कस्नुको कारण वरिष्ठ नेताद्वय नेपाल–खनालसहित १३ जना सांसदलाई कारबाही गरेका छन् । उनले १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । तर, अहिलेसम्म कुनै पनि नेताले स्पष्टीकरण दिएका छैनन् ।
नेपाल–खनालले आफूसहित १३ जना सांसदलाई पार्टीबाट निष्कासन गरेपछि उनीहरू ओलीसँग झन् चिडिएका छन् । विपक्षी दलहरूसँग ध्रुवीकरण गरेर नेपाल–खनाल समूहले ओलीको चर्को आलोचना गर्दै आएका छन् । ओलीले पनि उक्त आलोचनाको खुलेर विरोध गर्दै आएका छन् ।
पार्टीभित्र विवाद चुलिँदै गएपछि ओली र नेपाल–खनाल एमाले एकताप्रति निष्क्रिय बन्दै गएका छन् । तथापि पार्टी फुटको सम्मुखमा पुग्दा पनि एकताको विषयलाई ओझेलमा पारेका छन् । ओली नेपाल–खनाल समूहसँग पूर्वाग्रही र अनुदार बन्दै आएका छन् भने नेपाल–खनाल ओलीप्रति रुष्ट बन्दै गएका छन् । आफ्ना नेताहरूको कार्य र निष्क्रियताले पार्टी एकता भाँडिने चिन्ता एमाले दोस्रो तहका नेताहरूले गरेका छन् ।
यसैबीच सोमबार एक्कासी कसैलाई थाहा नदिएर एमाले ओली र नेपाल–खनाल समूहका दोस्रो तहका नेताहरूले भेटवार्ता गरेका छन् ।भेटवार्तामा भएको छलफलबारे आज (मंलबार) ओली समूहका नेताहरूले ब्रिफिङ गरेका छन् । ब्रिफिङ चित्त बुझ्दो नभए ओलीले कारबाही प्रक्रिया पुनः अगाडि बढाउने छन् । तथापि उनको चित्त बुझेर हो या पर्ख र हेरको अवस्थामा पुगेर हो, उनले भुषाल र पाण्डे लगायतका नेतामाथि कारबाही तत्काललाई रोकेका छन् ।