काठमाडौं । ताप्लेजुङमा रहेको सुकेटार विमानस्थललाई ओली सरकारले ‘रविन्द्र अधिकारी विमानस्थल’ नामाकरण गरेकामा खश समुदायका अगुवाले विरोध जनाएका छन् । खश अन्तराष्ट्रिय समन्वय समाज ताप्लेजुङका संयोजक नरबहादुर विष्टले आज एक विज्ञप्ति जारी गर्दै यस्तो विरोध जनाएका हुन् । विज्ञप्तिमा विष्टले सो विमानस्थलको नाम यथावत राखी स्थानीयको पहिचान कायम राख्न पनि माग गरेका छन् ।
‘केपी ओली सरकारले यही मिति २०७८ जेष्ठ १५ गते अध्यादेश मार्फत् जारी गरेको आ.व. ०७८,७९ को बजेटको बुँदा नम्बर ३५६ मा उल्लेखित ताप्लेजुङको फुङ्लिङस्थित सुकेटार विमान स्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी विमानस्थल नामकरण गर्ने विषय उल्लेख गरिएकोप्रति खसअन्तरराष्ट्रिय समन्वय समाजको गम्भिर ध्यानाकर्षण भएकोछ । ताप्लेजुङवासी जनताको भावना विपरित गरिएको सरकारको उक्त निर्णयप्रति घोर आपत्ति ब्यक्त गर्दै तत्काल सो निर्णय फिर्ता लिन सरकासँग माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
विष्टले विज्ञप्तिमा सुकेटारको ऐतिहासिकता र पहिचानलाई स्पष्ट पार्दै भनेका छन्,‘सुकेटार अर्थात् याक्थुङ (लिम्बू) भाषामा सुःरित तेल्लक हुँदै सुके तेल्लक भनिन्थ्यो । डाँडा भएकाले सुःरित केसुक्पा तेन (हावा बहने ठाउँ) लाई सुके र मैदान वा टार भएकाले तेल्लक भनियो । पछि सो सुके तेल्लकलाई नेपाली करण गर्दा सुकेलाई यथावत राखी तेल्लकलाई टार राख्दा सुकेटार नामाकरण भएको उक्त ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको सुकेटार विमान स्थलको नाम यथावत राखी स्थानीय पहिचानलाई कायम राख्न जोडदार माग गर्दछौं ।’
खश मोर्चा नेपालमा रहेका विभिन्न जातीय पहिचानहरुलाई बचाउन भन्दै अभियानमा लागको संस्था हो । स्थानीयवासीको पहिचान मेटाउने कुनैपनि कार्यको सो मोर्चाले विरोध गर्दै आएको छ ।