• माघ १८ २०८१, शुक्रबार

छोरी तिमी आफ्नैबाट सुरक्षित छैनौ

जेष्ठ १७ २०७८, सोमबार

जन्मनु भन्दा पहिले,
तिम्रो बाआमाबाटै
तिमी सुरक्षित थिइनौ
किनकी यहाँ गर्भ सुरक्षित हुनका लागि
छोरा हुनुपर्छ
तर तिमी छोरी हौ ।
जन्मिसकेपछि
भुलाउने चाहनामा
खेलाउने बहानामा
धेरैले चुम्बन गरे
नछुने ठाउँमा छोए
हेर्न नहुने कुरा हेरे
हेर्न नहुने कुरा हेर्नु र
छुन नहुने ठाउँमा छुनु पनि
असुरक्षित हुनु होइन र ?
जब विद्यालय जाने भयौ
कयौंपटक तिम्रा सरहरुले
टाइ नमिलेको भनी छाती चिमोटिदिए
हिसाब मिलेन भन्दै ढाड सुमसुम्याइदिए
गृहकार्य छुटेको दिन गाला मुसारेरै छुट दिए
साथीसित झगडा गरेको दिन
मुर्गा (कुखुरा) बनाइ
पछाडी उभिएर पटकपटक
आँखाले बलात्कार गरे
छोरी के तिमी विद्यालयमा सुरक्षित छौ ?
तिमीले प्रेमको लामोलामो सास फेर्दा
तिम्रो प्रेमिले रोमाञ्चित सास मानेर
जब
तिमी उभिएकै जमिनमा पल्टायो
अनि के के गर्यो तिमीलाई
के तिमी प्रेमिबाट सुरक्षित छौ ?
तिम्रो अगाडि उभिइरहेका काकाले
तिमीलाई हेरेर कयौंचोटी थुक निल्छन्
तिम्रो पछाडिको हजुरबा चस्मा मिलाउँदै
तिमीलाई नै हेर्छन् र खै केके सोँच्छन्
ऊ त्यो केटो तिमीलाई ‘माल’ भन्दैछ
धेरैको आँखामा मनोरञ्जनको
साधन भएपछि भन त
तिमी कसरी र कोबाट सुरक्षित छौ ?
तिमी नर्स भएर अरुको ज्यान बचाउँछेऊ
र दुनियाँलाई हर्ष दिन्छेऊ
जब रात र दिन नभनी
भोक र प्यास नभनी
बिरामीको सेवक बनेर
अहोरात्र खटिरहन्छेऊ
त्यति नै बेला
मानवरुपी कयौं ब्वाँसाहरु
लुछ्न  आउँछन् तिमीलाई
चिथोर्न आउँछन् तिम्रो जोवन
कोपर्न आउँछन् तिम्रो बैंस
गिद्धेनजर लगाउँछन् तिम्रो जीउमा
नाटक गर्छन् मायाको
के तिमी यहाँ सुरक्षित रहिछौ ?
छोरी कसैसित र कतैबाट पनि
सुरक्षित छैनौ
किन की
हजारौं वर्षदेखि तिमीलाई
दोस्रो दर्जाको मानिस ठानियो, बनाइयो
पुरुषको इच्छा पूरा गर्ने मेसिन बनाइयो
तिम्रो फरक शारिरीक बनावटलाई
भगवानले बनाएको भाग्य भनियो
किन की
तिमीलाई कमजोर देखाएर
पुरुषले तिमीबाट
केके हो केके लुट्नु थियो ।
त्यसैले अब तिमी र तिमी जस्तै
लाखौं छोरी, बुहारी र बहिनीहरु
सुरक्षित रहन
पुरुषको अत्याचारी सोचका विरुद्ध
जुर्मुराउनु पर्छ
हिजो सामन्ती युगले लुट्यो तिमीलाई
आज तिमीलाई गणतन्त्रले लुटिरहेको छ
किन की हिजोको सामन्त र
गणतन्त्रको सामन्तमा
कुनै भिन्नता छैन
समयसँगै भिन्नता त मानिसको सोचमा
हुनुपर्ने होइन र ?
बरु रुप फेरिएका गणतन्त्रका सामन्तहरु
छ्याप्छ्याप्ती पलाएका छन् आजको समाजमा
स्वतन्त्रताको नाममा छाडा भएका
हिंस्रकहरु मातेर तिमीलाई
डस्न खोजिरहेका छन् मानवरुपी
विषालु गोमनहरु
त्यसैले सामन्ती युगको घुम्टो ओढेको
यो गणतन्त्रमा पनि
मानिसका दिल, दिमाग र सोचहरु बदल्न
फेरि अर्को नयाँ विचार उत्पादनको
अभियान चलाउनु पर्छ
उस्तै परे खराब गणतन्त्रको कात्रो ओडेर
मानिसका दिमागमा रहेको
खराब विचारलाई सेलाउन फेरि
अर्को महाअभियानमा सामेल हुनुपर्दछ
ताकी
पतन हुँदै गएको पुरानो सोचलाई
सिध्याउन
सबै छोरी, बुहारी र चेलीहरुले आगो
ओकल्न सकुन् र
आफूलाई सुरक्षित महसुस गर्न सकुन् ।