• चैत्र २६ २०८१, बुधबार

कोरोना नियन्त्रणमा लापरबाही गर्ने राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन माग

जेष्ठ १६ २०७८, आईतवार

ब्राजिल । कोरोना महामारी नियन्त्रणमा लापरबाहीपूर्ण तरिकाले काम गरेको भन्दै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो विरूद्ध महाअभियोग लगाउनु पर्ने माग उठेको छ ।
कोरोना महामारीलाई सुरूदेखि नै हलुका ढंगले लिइरहेका बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने माग राखी शनिबार ब्राजिलभरी लाखौं मानिसहरूले प्रदर्शन गरेका छन् । दुई सय बढी सहरमा बोल्सोनारोविरुद्ध प्रदर्शन भएको हो ।

शनिबारको प्रदर्शन कोरोना महामारी सुरू भएपछि बोल्सोनारोविरूद्ध भएको पहिलो ठूलो प्रदर्शन हो । ‘आज बोल्सोनारोको नरसंहारकारी प्रशासनलाई हराउने निर्णायक दिन हो,’ रिओको प्रदर्शनमा सहभागी ५५ वर्षीया अधिकारकर्मी सिल्भिया डी मेन्डोन्काले भनिन् । कोरोनाका कारण आफन्त गुमाएकाहरूले उनीहरूको सम्झनामा हातले लेखेका नाराहरू बोकेर प्रदर्शनमा सहभागी भएका थिए ।

‘हामी अरू धेरै ब्राजिलियनहरूको जीवन गुमाउन चाहन्नौं । यो सरकार नढलेसम्म हामी हरेक दिन सडकमा आउनु पर्छ,’ कोरोनाबाट आफ्ना भाइ गुमाएका ४८ वर्षीय ओस्भाल्डो बाजानी डा. सिल्भाले भने । ब्राजिलमा कोरोनाबाट अहिलेसम्म ४ लाख ६० हजार मानिसले ज्यान गुमाएका छन् । अमेरिकापछि महामारीको सबैभन्दा धेरै चपेटामा परेको मुलुक ब्राजिल हो ।

राष्ट्रपति बोल्सोनारोले सुरूदेखि नै यो सामान्य फ्लू भएको बताउँदै आएका थिए । उनले भौतिक दूरी कायम गर्ने र लकडाउन गर्ने कुराको सधैँ विरोध गरेका थिए । उनले आफूले कोरोनाभाइरस विरूद्धको खोप पनि नलगाउने घोषणा गरेका थिए । ‘भाइरसभन्दा पनि यो सरकार बढी खतरनाक छ,’ कोरोनाबाट दुई आफन्त गुमाएकी ६९ वर्षीया इरिने ग्रेथरले भनिन् ।
अध्ययनहरूले अहिले ५७ प्रतिशत ब्राजिलियनहरू बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने पक्षमा रहेको देखाएका छन् ।