कास्की ।
विश्व महामारीको रुप लिएको कोरोनाले पोखराको हेम्जामा पनि झण्डै ३ सय बढीलाई संक्रमित बनाएको छ । यसैबीच पोखरा वडा नं २५ हेम्जाले कोरोना नियन्त्रणका लागि कोरोना महामारी नियन्त्रण समन्वय समिति खडा गरी काम गर्दै आएको छ । समितिको पहलमा थर्मोमिटर, अक्सिमिटर, जीवन जल, भिटामीन बी र सी, मास्क, स्यानिटाइजर, एन्टिबायोटीक, सीटामोल र किटहरु निःशुल्क वितरण गरिरहेको छ ।
समन्वय समितिले संक्रमितहरुलाई अन्य खतरा नहोस् भनी अक्सोमिटरमा अक्सिजन लेभल जाँच कसरी गर्ने, समान्य होम आइसोलेसनमा रहेका संक्रमितलाई घरपरिवारले कसरी हेरविचार गर्ने, कस्तो अवस्थामा अस्पताल लैजाने, परिवारका अन्य सदस्य कसरी सर्तक रहने, परिवारलाई जानकारी कसरी दिने लगायतका विषयमा जानकारी दिने र संक्रमितहरुको सहजिकरणको लागि एम्बुलेन्स र अस्पतालको व्यवस्था गर्दै आइरहेको स्वास्थ्य शाखा प्रमुख खेम गुरुङले बताए । ।
सामान्य होम आइसोलेसनमा बसेका संक्रमितहरुको दैनिक हेरचाह तथा डाक्टर र नर्स सहित परामर्श दिने काम पनि भइरहेको छ । संक्रमितहरुको स्वास्थ्यको बारेमा जानकारी लिँदै आवश्यक औषधि तथा स्वास्थ्य सामाग्री निःशुल्क वितरण गरिएको छ । स्वास्थ्य चौकीले संक्रमितहरुलाई दैनिक परामर्श सहित फोनबाट स्वास्थ जानकारी लिँदै आइरहेको छ ।
हेम्जामा विभिन्न समयमा कोरोनाको निःशुल्क रुपमा जाँचपनि हुँदै आइरहेको छ । वडामा जनाचेनताको लागि दैनिक माइकिङ पनि गर्दै आइरहेको छ । योसँगै स्वास्थ्य चौकीले स्वास्थ्य मापदण्ड पालनागरी नियमित खोप सेवा पनि सञ्चालन गरिरहेको छ ।
अन्य रोगको उपचार र गर्भवती जाँचलाई निरन्तरता दिँदै नियमित औषधि खाने क्षयरोगका बिरामीको पनि उपचार भइरहेको छ भने स्वास्थ्य संस्थाबाट टाढा हुनेलाई घरमै औषधि पुर्याई महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीको निगरानीमा दिने गरिएको छ । स्वास्थ चौकीले आफ्नो दैनिक कार्यबारे तथा जानकारी, सूचना आदि हेम्जा स्वास्थ्य चौकीको नाम रहेको समाजिक संजालमा दैनिक रुपमा पोष्ट गर्दै आइरहेको छ ।