काठमाडौं/
नेपालका लागि पूर्वभारतीय राजदुत श्याम शरणले प्रधानमन्त्री केपी ओली नै भारतको रोजाइ हो भन्नेमा काठमाडौंको राजनैतिक वर्ग र सर्वसाधारण विश्वस्त रहेको बताएका छन् । श्याम शरणले ‘दि इन्डियन एक्सप्रेस’मा लेख प्रकाशित गर्दै पुरै नेपालको जनमतको बुझाई भने यस्तो नरहेको उल्लेख गरेका छन् ।
श्याम शरणले ओलीले नयाँदिल्लीमा रहेको भारतीय जनता पार्टीको सरकारसँग नेपाललाई राजतन्त्रको मातहतमा हिन्दु राष्ट्रमा पुनःस्थापना गर्ने र चीनलाई किनारामा राख्ने बाचा गरेको बुझाइ नेपालमा रहेको पनि उल्लेख गरेका छन् । भारतले नेपालमा राजतन्त्र फर्काउन चाहेको हल्ला पनि चलेको उनले उल्लेख गरेका छन् ।
भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र अन्य हिन्दु नेताले नेपालमा राजतन्त्र फर्काउन सहयोग गर्न भनी दिएको अभिव्यक्तिलाई यसको बलियो प्रमाणको रुपमा लिइएको समेत उनले बताएका छन् । साथै, पूर्वराजा ज्ञानेन्द्र शाहको कुम्भमेला भ्रमणले पनि यस्तो अन्दाजलाई बल पुगेको उनले उल्लेख गरेका छन् ।
आफू नेपालको राजदूत हुँदा र पछि विदेश सचिव हुँदा केही पाठ सिकेको जनाउँदै उनले भारत नेपालसँग सबै तहमा इन्गेज हुनुपर्ने उल्लेख गरेका छन् । उनले भारतले नेपालमा के भइरहेको छ भन्ने राम्रो मूल्याङ्कन गर्नुपर्ने र भारतको हित कसरी हुन्छ हेर्नुपर्नेमा जोड दिएका छन् ।