काठमाडौँ /
अस्पतालमा कार्यरत चिकित्सक नर्समाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै नेपालगंजको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन्।
चिकित्सकहरुको प्रदर्शनका कारण अस्पतालमा कोभिडका नयाँ बिरामीहरु भर्ना हुन सकेका छैनन् । अस्पतालमा उपचाररत बिरामीलाई भने सीमित चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालका कर्मचारी युनियनका अध्यक्ष होमनाथ सुवेदीले बताए । बिरामीलाई बचाउने चिकित्सकहरुको मुख्य दायित्व भएको भन्दै उनले दोषीलाई तत्काल कारबाही नभएसम्म नयाँ बिरामी भने भर्ना हुन नदिने बताए । सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म स्वास्थ्यकर्मीहरु काममा नफर्कने उनले बताए । ‘जबसम्म कानुनको कठघरामा ल्याइँदैन, तबसम्म हामी नयाँ बिरामी भर्ना गर्न दिंदैनौं,’ उनले भने ।
बिहीबार साँझ भेरी अस्पताल नेपालगंजमा चिकित्सक र नर्समाथि आक्रमण भएको थियो । उपचारका क्रममा दाङ्गका एकजना बिरामीको मृत्यु भएपछी उनका आफन्तले चिकित्सक र नर्समाथि साङघातिक हमला गरेका थिए। कोरोना उपचार कक्षामा तोडफोड गर्दै ज्यान नै मार्ने शैलीमा आक्रमण हुन थालेपछि चिकित्सक र नर्सहरुले एकतला माथिबाट हाम फालेर ज्यान जोगाएका थिए।