• मंसिर १४ २०८१, शुक्रबार

जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो, जीवन बचाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री

जेष्ठ १३ २०७८, बिहीबार

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको जनाएका छन्  ।

राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत रहेको बताएका हुन् ।

“महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो ।”

प्रधानमन्त्री ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर स्थापनाकालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताउँदै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको समेत जानकारी दिए ।

आयोगले सरकारलाई गरेको सिफारिसप्रति ध्यान दिइएको जनाउँदै उनले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै आएको समेत बताए ।