काठमाडौं । माधव पक्षका नेताहरुले प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य आवश्यक रहेको जनाउँदै संयुक्त वक्तव्य जारी गरेका छन् ।
बुधबार खानाल र नेपाल पक्षले एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको कदम ‘स्वेच्छाचारी’ कदमविरुद्ध एकजुट हुन संयुक्त अपिल गरेका हुन् ।
राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि ओलीको निरंकुश र प्रतिगामी कामविरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन उनीहरुले आग्रह गरेका हुन् ।
‘केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गर्दछौँ,’ सामूहिक वक्तव्यमा भनिएको छ,’ राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्र प्रेमी, देशभक्त, राजनीतिक दल एवम् जनसमुदायमा प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी काम कारवाहीका विरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन हार्दिक आग्रह गर्दछौँ ।’
भनेको छ, ‘पार्टी निर्माणको आरम्भदेखि नै नेतृत्व दिएका वरिष्ठ नेताहरू लगायत पार्टीको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका महाधिवेशनबाट निर्वाचित पदाधिकारी समेतका नेताहरू एवं सांसद गरी ११ जनालाई पार्टी सदस्यबाट निष्काशन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको निरंकुश तानाशाही निर्णय सार्वजनिक गरिएको छ। यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भर्त्सना गर्छौँ ।’
वक्तव्य पछि नेता भिम रावलले ओली प्रवृत्तिको अन्त्य आवश्यक रहेको र गरिछाड्ने बताएका छन् । खनाल–नेपाल पक्षले आफ्नै पार्टीको विरुद्ध गई सरकार ढाल्नेदेखि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा हस्ताक्षर गरेका थिए ।
वक्तव्य जारी गर्नेहरूमा योगेश भट्टराई र गोकर्ण विष्ट पनि छन् । उनीहरू पार्टी एकताको पक्षमा उभिँदै देउवालाई प्रधानमन्त्री बनाउने विपक्षी गठबन्धनको कदमको विपक्षमा थिए ।