काठमाडौं । ओली सरकारले आफ्नो सत्ता लम्ब्याउन जनतामा कोरोना भाइरसको आतंक फैलाएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले काठमाडौँ उपत्यकामा थपिएको निषेधाज्ञामा खाद्यान्न पसल पनि बन्द गर्ने र त्यसका लागि २ दिनभित्र खाद्यान्न जोहो गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि यसमा आपत्ती जनाएको हो ।
ओली आफ्नो सत्ता लम्ब्याउन जनता आतंकित हुने सूचना सार्वजनिक गराउन उद्यत भएको ठहर गरेको कांग्रेसको आरोप छ ।
कोरोना नियन्त्रणको आडमा सत्ता लम्ब्याउने ओलीको चाहना पूरा हुन नदिने कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले बताएका छन् ।
‘सरकारले कोभिड संक्रमणलाई रोकथाम गर्ने भन्दा पनि त्यसको आडमा राजनीति गर्न खोजेको छ, जनतालाई दुई दिन भित्र किनमेल गर भन्नु त्यसैको एउटा दृष्टान्त हो,’ महतले भने ।