काठमाडौं । राजासहितको प्रजातन्त्रका पक्षमा वकालत गर्दै आइरहेको नेपाल नागरिक अभियानले सर्वपक्षीय राष्ट्रिय सरकार गठनको माग गरेको छ ।
राजसंस्थासहितको प्रजातन्त्रमा विश्वास र समर्थन गर्ने राजनीतिक दल,स्वतन्त्र समूह तथा प्राज्ञ, राष्ट्रभक्त नागरिक–अभियन्ताहरुको गोलमेच सम्मेलनको आवश्यकतामाथि जोड दिँदै अभियानले राष्ट्रिय स्वाधिनतामाथि भइरहेको प्रहारका विरुध्द एकजुट भएर राजनीतिक निकास दिन सर्वपक्षीय राष्ट्रिय सरकार गठनको माग गरेको हो ।अभियानले प्रतिनिधिसभा विघटन तथा मध्यावधि घोषणालाई जनचाहना विपरितको कदम भन्दै तत्काल सच्याउन पनि माग गरेको छ ।
कोभिड–१९ को कारण रोग,भोक र बेरोजगारीबाट जनता आक्रान्त भैरहेका बेला घोषणा गरिएको मध्यावधि चुनाव गर्नका लागि नभई अध्यादेशमार्फत स्वास्थ्य संकटकाल लगाएर सत्ता टिकाइरहने,राजनीतिलाई अस्थिर बनाई रहने योजनावध्द षडयन्त्र भएको अभियानको ठहर छ ।
प्रतिनिधिसभा विघटन तथा नयाँ निर्वाचनको घोषणाबारे गरिएको अध्ययन विश्लेषणका आधारमा यस्तो निष्कर्ष निकालेको जनाइएको छ ।
प्रधानमन्त्री,राष्ट्रपति तथा ठूला दलका उच्च नेतृत्वको दोधारे प्रवृत्तिले मुलुकको भविष्य र राजनीतिलाई ब्लाक होलतर्फको अनिश्चित यात्रामा धकेलेको दाबी गर्दै अभियानले यस्तो दुस्प्रयासलाई रोक्ने कुनै निकाय र उपाय छैन त भनी प्रश्नसमेत गरेको छ ।
अभियानले जनता सडकमा उत्रिएर विरोध भैरहेको अहिलेको परिप्रेक्ष्यमा निषेधको मानसिकताबाट माथि उठी राजनैतिक निकासका लागि राज प्रतिनिधि,सबै दलहरु,नागरिक अभियानका प्रतिनिधिहरूको सर्वपक्षीय राष्ट्रिय गोलमेचको पहल नहुनुलाई राजनीतिक अपरिपक्वताको सूचक भनेको छ ।
त्यस्तै,साइलेण्ट वा सफ्ट पावरको रुपमा रहेका प्रजातान्त्रिक शक्ति, विभिन्न संघ संस्थाहरु,प्राज्ञ, बुद्धिजीवी,पत्रकार, मानवअधिकारवादीले समेत यसमा पर्याप्त आवाज उठाउने प्रयत्न गरेको अनुभूति किन हुन नसकेको भन्दै असन्तुष्टि जनाइएको छ ।
नागरिक अभियानले नागरिकता अध्यादेशको पनि विरोध गरेको छ । अध्यादेशबाट शासन चलाउने र सत्ता टिकाउने प्रवृति बढेको भन्दै उसले मुलुकमा अराजकता र दीर्घकालीन प्रभाव पर्ने चिन्ता व्यक्त गरेको छ ।
नागरिकता पाउनु पर्नेले निसन्देह पाउनु पर्दछ । पटकपटकका परिवर्तनसंगै विदेशीलाई नागरिकता वितरण गर्ने धन्दा रोकिएको छैन । अध्यादेशबाट शासन चलाउने सत्ता टिकाउने प्रवृत्तिले अराजकता थप्ने र दीर्घकालीन असर पार्ने निश्चित छ ।
कम्युनिष्ट खोल ओढेर नक्कली राष्ट्रवादी सत्ताका लागि सौदावाजीको खेलमा अनुत्तरदायी सर्वसत्तावादी ढंगबाट राज्य संचालनका शासक र शासनबाट देशलाई जोगाउन विपक्षी दलहरू समेत पटक पटक किन र कसरी चुके ! यस विषयमा गम्भिर समिक्षा हुनुपर्छ,अभियानले जारी गरेको नागरिक अपेक्षा अपिलमा भनिएको छ ।