• मंसिर ११ २०८१, मंगलवार

छिटो कोरोना जितेर समाज सेवामा फर्कन मन छ : कलाकार गाउँले

जेष्ठ ११ २०७८, मंगलवार

घोराही, ११ जेष्ठ ।
झुकेर ‘नमस्कार’ टक्राउनुहुन्छ । पहिलो शब्द निस्कन्छ, ‘ए हजुर, मेरो भगवान कोरोनाबाट जोगिनु होला ।’ यही वाक्यले कलाकार कमल गाउँलेले भोगेको कोरोनाको कष्ट अनुमान लगाउन सकिन्छ । उहाँ घोराही–१८ मसिनास्थित आफ्नै घरमा आइसोलेसनमा उपचाररत हुनुहुन्छ ।

उहाँलाई भेट्न हाम्रो टिम घरमै पुग्यो । सडकपेटी नजिकै रहेको गेटबाट कराएपछि दोस्रो तलाबाट झुर्लुक्क निस्कनु भयो । उहाँ झुस्स दाह्रीमा हुनुहुन्थ्यो । सरल र मिजासका साथ स्वागत गर्नुभयो । घरभित्र पस्न पाइँदैन भनि अनुमति माग्दा भने अलिक अलमलमा पर्नुभयो ।

मुसुक्क हाँस्नुभयो । झुस्स परेका दाह्री, दुब्लाएको ज्यान, बल्लतल्ल बरन्डामा निस्केर बोल्नुभएको जस्तो लाग्थ्योे । ‘डर मान्दैनौं भने, आउ माथि आउ मेरो भगवान’ निकै उत्साहका साथ बोलाउनु भयो । अरुबेला हसाउँने कमल गाउँले यतिबेला आफै हाँसेको पनि नौलो लाग्यो । उहाँले कोरोना जित्दै गएको आभाष दिनुभयो । मुहारमा उज्यालोपना झल्कियो ।
यति भनेपछि आफैले गेट खोल्यौं । भित्रको ढोको उघार्यौं । हाम्रो टोली उहाँको घरको दोस्रो तलामा उक्लियौं ।

गाउँले निस्केकै बरन्डामा छिर्यौं । यो तरिका उहाँकी श्रीमति कोशिस अर्याललाई पनि नौलो लागेको थियो । जेष्ठ एक गते गाउँलेलाई कोरोना पोजेटिभ रिपोर्ट आयो । तिन गते कोशिसलाई पनि पोजेटिभ भयो । त्यसपछि छोरी सिर्जनाले बाबाममीको सेवा गर्नुभयो । यो अवधिमा त्यो बरन्डा छिर्ने पहिलो टोली भनेर सिर्जनाले टिप्पणी गर्नुभयो । केहिले सडकबाटै सञ्चो बिसञ्चो सोधेको बाहेक घरमा छिर्ने हिम्मत गरेनन् ।

उहाँलाई गत बैशाख २७ गते हल्का ज्वरो आयो । हाँस्यकलाकार गाउँलेका अनुसार त्यसले च्याप्दै लग्यो । रुघाबेथा होला भन्ने लाग्यो र घरेलु उपचारमा जुट्नु भयो । पाँच दिनसम्म सिटामोल खाएर बस्दापनि ज्वरो थामिएन । कोरोनाको शंका लाग्यो र पिसिआर टेष्ट गराउन जानुभयो । भोलिपल्ट पोजेटिभ रिपोर्ट आयो र होम आइसोलेसनमा बस्नुभयो । त्यस दिनदेखि कष्ट काट्न लागेको अहिलेसम्म पनि कोठामै हुनुहुन्छ । उहाँका अनुसार सिंगो संसार त्यहि भएको छ । घर परिवार नै समाज नै सबैचिज हुँदै आएका छन् ।

‘स्वस्थ हुनुस् मेरो भगवान’ गाउँलेले हात जोड्दै भन्नुभयो, ‘कोरोना रोग लाग्न नदिनुस् अरु केहि गर्नु पर्दैन ।’ उहाँका अनुसार कोरोनाले यसरी च्याप्यो कि बाँचिन्नकेर जस्तो बनायो । केहि दिन त आफु डुलेघुमेको संसार याद गर्ने बनायो । नदी, खोला, वन जंगल कोठाबाट जति देखिन्छन् त्यति धित मरुञ्जेल हेर्न मन लाग्यो । अब त देख्न पाइँदैन जस्तै भयो । विगतमा मञ्च तर्फ च्याउँदै उत्साहित हुने हजारौँको भिड दिल दिमागमा घुमे । वाह्वाही गर्ने, सिठि फुक्ने, थपडी बजाउनेहरु सम्झनामा आए । तर आफू मृत्युसँग लड्दा सडकबाट सञ्चो बिसञ्चो सोध्ने मानिस पनि धेरै भएनन् । बडा नमज्जा लाग्यो । अनि जिन्दगीको परिभाषा, सामाजिक कामको मूल्यांकन यावत कुराले घोँच्न थाले ।

उहाँलाई भेट्न पुगेका घोराही–१८ का वडासदस्य कृष्णबहादुर घर्ती, साथी विष्णु पोख्रेलसँग निकै आत्मीय व्यवहार देखाउनुभयो । लाछि नबन्न, ठूला महत्वाकांक्षा नराख्न सुझाव दिनुभयो । आफ्नो शरीर मजबुत बनाउनु भन्दा अर्को ठूलो कुरा केहि रहेनछ भन्ने ज्ञान प्राप्त गरेको गाउँलेको भनाई थियो । त्यसैगरी जीवन सन्तुलित बनाउन आग्रह गर्नुभयो । समाज सेवाका नाममा धेरै मच्चिएर ज्यान खराब नबनाउन आग्रह गर्नुभयो ।

उहाँलाई कोरोनाले दबाउँदै लैजाँदा संसार केहि रहेनछ भन्ने अनुभुति भयो । आफूले कमाएको पनि चाहिँदो रहेनछ भन्ने महसुस गरायो । ‘तलको चार कठ्ठा बारी पनि जो सुकैलाई खाउन् भने’ हाँस्यकलाकार गाउँलेले अधिक दुखाईको पीडा स्मरण गर्दै भन्नुभयो,‘यो जीवन केहि रहेनछ भन्ने लाग्यो ।’  उहाँका अनुसार बस्नलाई घर त चाहिने रहेछ, बास त भँगेराले पनि बनाउँछ तर कोहि शत्रु बैरीलाई रोगले नछोवस् भन्ने लाग्यो ।

विगत २० वर्ष देखि समाज सेवा गरेको जीवन हो । फ्यानहरु नभएका होइनन् । परिस्थितिले धन दौलत, समाज सेवा केहि पनि अर्थ नराख्ने अवस्था ल्याइदियो । छर छिमेक र आफन्तले पनि भेट्न नपाउने भयो । जिन्दगीको मुल्य र महत्व कोरोनाले सखाप बनाई दियो । उहाँकै शब्दमा कहिल्यै धन दौलत काउने लोभ लालच गरिन । बाँचुञ्जेल लगाउ, खाउ । जिन्दगीको भरोसा रहेनछ । समाज कमाउने पनि यस्तै रहेछ । ठिकै गरेर ज्यान राम्रो राख्नुपर्ने रहेछ ।

अहिले हल्का खोकि छ । ज्वरो छैन । फुर्ति बढेको छ । जोस चढ्दै गएको छ । सामाजिक सञ्जालका गतिविधि हेर्न जाँगर लाग्छ । उहाँका अनुसार लगभग सुधार भई सक्यो । कोरोना जितियो । ज्वरोले खाएको ज्यान भर्ने र नेगेटिभ रिपोर्ट हाँसिल गर्न बाँकी दुईकाम बाँकी छ । हल्काहल्का मुस्कुराउँदै गाउँलेले भन्नुभयो,‘बुढिलाई कोरोनाको केहि सिन्टम देखिएन, उहाँले थप्नुभयो, ‘दशै आया जस्तो खान्छ, आराम गर्छ ।’

उहाँका अनुसार आफूलाई कुन खालको कोरोना लाग्यो अचम्म पारेको छ । जसले अहिले सम्मकै कठिन दुखाई दिएर गयो । यो उमेरसम्म यति धेरै शरीर दुखाएर यातना दिएको रोग यहि को ।
उहाँका अनुसार बेस्सरी च्याँप्दै लगेपछि हरियाली वन, जंगल, खेलानाला सब चिजको खुब माया पलाउँदो रहेछ । अब सबैलाई सम्झिन्छु । यो दुखाई खट्न सकिँदैन । भन्ने लागेको थियो । मन सानो हुँदै थियो । शुरुका पाँच सात दिन यति गाह्रो भयो । बाँच्छु भन्ने त थोरै आशपनि थिएन । अहिले अलिकति आटो खानुहुन्छ । पहिला खाएका खानेकुरामा मन फर्किन लागेको छ । बोल्न, भेटघाट गर्न जाँगर चल्छ । उत्साह बढ्दै गएको छ ।

शरीरमा अरु रोग भएका र रोगसित लड्ने क्षमता कमजोर रहेकालाई गाह्रो रहेछ । उहाँका अनुसार पहिलो कुरा खानपिन र स्वाथ्यमा ख्याल राख्नु पर्ने रहेछ । मिठो लागेको खाइहाल्ने होइन । जिब्रोले जेजे भन्छ त्यहि खानु हुँदैन । धेरै मोटाउनु हुँदैन । अल्छी बन्नु हुँदैन । गाउँलेले योग, व्यायाम प्रणायाम गरेको सुनाउनु भयो । युटुवमा रामदेवलाई खोजेर योगा गरेको उहाँका भनाई छ । भात थोरै अरु गाजामगुजुम साग तरकारी फलफूल धेरै खानुपर्छ भन्ने थाहा भयो । कोरोना लागेको बेला गुलियो कुरा सहनै नसक्ने रहेछ । खाँदै नखानु भन्ने उहाँको सुझाव छ ।

सब भन्दा धेरै प्राकृतिक कुरामा जोड दिनुपर्दो रहेछ । उहाँको जीवनमा डा. सरोजा बस्याल अविश्मरणीय बन्नुभएको छ । मितेरी अस्पतालमा काम गर्ने वरिष्ठ फिजिसिएन बस्याललाई कोभिड विशेषज्ञ बताउनुहुन्छ । उहाँ जस्तो वरिष्ठ फिजिसिएनको सहयोग नपाएको भए जीवन रहन्नथ्यो भन्ने कलाकार गाउँलेलाई लागेको छ । साथै काठमाण्डौं बस्ने डा. प्रकाश जोशीले पनि सल्लाह दिनुभयो । डा. जोशी गाउँलेको शरीर सम्बन्धि पूर्वजानकार हुनुहुन्छ ।

आज पोजेटिभ रिपोर्ट आएकै ११ दिन भइसकेको छ । उहाँलाई अब बल्ल बाँचे भन्ने विश्वास जागेको छ । उहाँ होम आइसोलेसनमै कोरोना भाइरस पूर्णरुपमा पराजित गर्दै हुनुहुन्छ । कोरोना भाइरस जितेर फेरि दुनियाँ हँसाउने सामाजिक काममा जुट्ने तलतल बढिसकेको छ ।