काठमाडौं । पहिलो पटक संसद् विघटन पश्चात् प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग चिडिएका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) पक्षले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । पार्टी फुटबाट जोगाउन बारम्बार सहमतिको ढोका ढकढक्याउँदा पनि ओलीले बेवास्ता गरेपछि आफ्नो पक्षले छुट्टै पार्टी खोल्ने तयारी गरेको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बताइन् ।
निर्वाचन आयोगमा एमाले नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता गरेसँगै नेपाल–खनाल पक्षले नै उक्त पार्टी दर्ता गराएको चर्चा चलेको छ । नेपाल–खनाल निकटका युवा नेता जीवन राईको नेतृत्वमा सो पार्टी दर्ता भएको छ । पार्टीको चिन्ह भने कलम रहेको छ । बैशाख ७ गते नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् । नेपाल–खनाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरिरहेकै बेला उक्त पक्षनिकट केही युवा नेताले दर्ता गराएको हुन् । राईले दल दर्ताका लागि कुनै पनि नेताहरूसँग सल्लाह नगरेको बताएका छन् । एमाले पार्टीमा आफूहरूले कुनै पदिय दायित्व र जिम्मेवारी नपाएका कारण नेकपा (एकीकृत) दर्ता गरेको उनको भनाइ छ । अनेरास्ववियुको उपाध्यक्षमा आफू पराजित भएपछि पार्टीले कुनै जिम्मेवारी नसुम्पेका कारण आफूहरुले छुट्टै दल दर्ता गराएको बताए ।
एमाले नेतृ नवीना लामा अनेरास्ववियुको अध्यक्षमा विजयी हुँदा राई विपक्षी गठबन्धनबाट उपाध्यक्षमा पराजित भएका थिए । उनी संखुवासभा निवासी हुन् । त्यस्तै महासचिव विनोद खुलाल अमृत साइन्स क्याम्पसमा २०६५ सालको स्ववियु निर्वाचनमा सभापतिको लागि बागी उम्मेदवार बनेका थिए । तथापि उनी बागी उम्मेदवार भए पनि पराजित भएका थिए ।
तथापि नेपाल–खनाल पक्षका प्रभावशाली युवा नेता घनश्याम भुषालले आयोगमा नयाँ दल दर्ता गराएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । आफू र आफ्नो पक्षलाई यस बारेमा आधिकारिक जानकारी नभएकै कारण यसबारेमा उनले खुलेर बोल्न भने चाहेनन् । तर, नयाँ पार्टी खोल्ने सन्दर्भमा उनले चाँसो देखाएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रातारात पुनः संसद् विघटन गरेकोमा नेता भुषालले विरोध जनाउने बताएका छन् । संसद् विघटन हुनुअघि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकारको नेतृत्वमा काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तथापि उक्त दाबी बदर गरि राष्ट्रपति भण्डारीले दोस्रो पटक संसद् विघटन गरेकी छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एमाले नेपाल–खनाल र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र–बाबुराम पक्षका सांसदहरूले देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव पेश गरेका छन् ।
त्यस्तै अर्की एमाले नेपाल–खनाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरू नयाँ पार्टी दर्ता गरेर अगाडि बढ्ने बताएकी छन् । सर्वोच्च अदालतले नेकपा बदर, एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा ब्युँतिएपछि एमालेमै फर्किए पनि आफूहरूको पदमुक्त गरेपछि ओलीलाई स्वीकारेर बस्न नसक्ने बताएकी छन् । अब उप्रान्त ओलीसँग कुनै आशा र भरोसा नभएकै कारण नयाँ दलको विकल्प रोजेको उनको तर्क छ ।
एमाले नेपाल–खनाल पक्षका नेताद्वय भुषाल र शाक्यले आफूहरूले नयाँ पार्टी खोलेर अगाडि बढ्ने बताए पनि बैशाख ७ गते युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता गरिएको नयाँ पार्टीे नेकपा (एकीकृत) नै माधवकुमार नेपाल–झलनाथ खनालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।