विराटनगर । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि मोरङमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्मका लागि थपिएको छ ।
सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागू हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
मोरङमा पहिलोपटक वैशाख १८ गते रातीको १२ बजेदेखि लागू हुनेगरी ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ । गत बैशाख ३१ गतेदेखि लागु हुने गरि जारी गरिएको निषेधाज्ञाको समयावधि पनि जेठ ११ गते मङ्गलबार समाप्त हुँदैछ ।