काठमाडौँ/
छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएर ज्यान गुमाउने मानिसहरुको संख्या तीनलाख नाघेको छ। सो देशको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार बिहानसम्म त्यहाँ कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या तीनलाख तीन हजार सातसय बीसजना पुगेको छ। बिगत २४ घण्टामा मात्रै भारतमा कोरोना संक्रमित भएर चार हजार चारसय चौवन्न जनाको ज्यान गएको सो मन्त्रालयले बताएको छ। त्यस्तै पुरै भारतभर पछिल्लो २४ घण्टामा १९ लाख २८ हजार १२७ जनामा कोरोना परिक्षण गरिंदा २ लाख २२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्।
आजसम्म भारमा कोरोना संक्रमितको जम्मा संख्या दुई करोड ६७ लाख ५२ हजार ४ सय ४७ जना पुगेको छ। भारतमा निको हुनेको संख्या दुई करोड ३७ लाख २८ हजार ११ पुगेको छ भने २७ लाख २० हजार ६ सय ८५ जना हाल सक्रिय संक्रमित रहेको विश्वभरिको कोरोना तथ्याङ राख्दै आएको वर्ल्डोमिटरले बताएको छ।
संसारको दोस्रो ठुलो जनसंख्या रहेको देश भारतले आज सम्म ३३ करोड भन्दा बढी मानिसमा कोरोना परिक्षण गरिसकेको बताएको छ भने त्यहाँ कोरोना जितेर निको हुनेको संख्या ८८.६९ प्रतिशत रहेको बताएको छ। त्यस्तै त्यहाँ १.१४ प्रतिशत संक्रमितको ज्यान गएको छ भने हाल १०.१७ प्रतिशत सक्रिय संक्रमित मात्रै उपचारमा रहेको भारतको सो मन्त्रालयले बताएको छ।
१९ करोड ६० लाख भन्दा बढी नागरिकहरुलाई खोप लगाई सकेको दाबि गरेको भारतले बितेको २४ घण्टामा ९ लाख ४२ हजार ७ सय २२ जनालाई खोप प्रदान गरेको छ। १ अरब ३० करोड मानिस बसोवास भएको देश भारत अहिले कोरोना भाइरसबाट प्रताडित हुने पनि अमेरिका पछि संसारको दोस्रो मुलुक बन्न पुगेको छ।
भारतका कर्नाटक, महाराष्ट्र, तमिलनाडु, केरला, आन्द्र प्रदेश, पश्चिम बङ्गाल र राजस्थान प्रदेश कोरोनाबाट संक्रमित हुने राज्यहरुमा अगाडी आउछन। कर्नाटक प्रदेशमा हालसम्म ४ लाख ७३ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् भने महाराष्ट्रमा ३ लाख ५१ हजार बढी संक्रमित रहेका छन्। त्यस्तै केरला प्रदेशमा २ लाख ७७ हजार भन्दा बढी, तमिलनाडुमा २ लाख ९४ हजार भन्दा बढी, आन्द्र प्रदेशमा २ लाख ९ हजार भन्दा बढी, पश्चिम बङ्गालमा १ लाख ३० हजार भन्दा बढी, र राजस्थानमा १ लाख १२ हजार बढी मानिसहरु कोरोनाबाट संक्रमित भएका छन्।
तर भारतमा पछिल्लो केही समय यता निरन्तर रुपमा कोरोना संक्रमितको संख्यामा कमि आइरहेको छ भएपनि त्यहाँ मृत्युदर भने घटेको छैन।