नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले पार्टी दर्ताको लागि निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ ।
उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । २५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोदकुमार खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।
दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने–‘दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेको छ । पार्टीको विधान, घोषणा पत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ ।
सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुन्छ ।’ नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् । राईले आफू अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको बताए ।
‘मैले निर्वाचन आयोगमा एक महिना अघि नै पार्टी दर्ताका लागि निवेदन दिएको हुँ’, राईले भने, ‘४५ दिनपछि दर्ता प्रमाण पत्र लिन आउनु भनेर आयोगले भनेको छ ।’
उनले आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) रहेको बताए । ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत पार्टीको नाम हो ।
कलम चुनाव चिन्ह छानेको छु’, राईको भनाई छ । राईले कतिपयले एमालेको माधव नेपाल समूहको निर्देशनमा पार्टी दर्ता गरेको भनेर आशंका गरेपनि आफुले स्वतन्त्र ढंगले गरेको दावी गरे ।
‘म अनेरास्ववियुबाट विदा भएपछि पार्टीले जिम्मेवारी दिएको थिएन । त्यसैले खाली बस्नुभन्दा पार्टी दर्ता गरौं भन्ने सोचेर दर्ता प्रक्रियामा गएको हुँ । माधव नेपालसँग यसबारे जोड्न जरुरी नै छैन’, राईको भनाइ छ ।