काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनावमा जाने कदमविरुद्ध विपक्षी पाँच दल सर्वाेच्च अदालत जाने निर्णय भएको छ । शनिबार बानेश्वरमा बसेको ५ दलको बैठकले १४९ जना सांसदसहित नेताहरु सर्वोच्च जाने निर्णय गरेको हो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र–बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छन्।
विज्ञप्तिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।
अदालतमा जानुअघि आफ्ना सांसदहरुलाई नागरिकतासहित आइतबार १ बजे संसद भवनमा बोलाइएको बताइएको छ । सम्भवतः आइतबार नभए सोमवार सर्वोच्च अदालत जाने तयारी भएको बताइन्छ ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षडयन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने बताएका छन् । उनका अनुसार कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्न अब सबै एकजुट हुन आवश्यक रहेको छ ।
शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका ५ दलका सांसदसहितका नेताहरु संसद पुनःस्थापनाको मागसहित न्याय माग्दै सर्वोच्च जान लागेका छन् ।