काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् । संहदरबारस्थित कार्यालयमा बिहान १० बजे बैठक बोलाइएको समाचारमा जनाइएको छ । ठाकुर र महतो पक्ष बाहेकका सांसदहरुलाई भने बैठकको खबर गरिएको छैन ।
उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए । प्रम केपी ओलीले खेलेको सत्ता टिकाउने खेलका कारण जसपा फुट्ने होकी सिंगै रहने हो यसै भन्न नसकिने अवस्थामा पुगेको छ । यसैबीच जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् । ‘लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँ, आजै गरौं, अहिल्यै गरौं ’ डा. भट्टराईले ट्वीट गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि भट्टराईले यो धारणा सार्वजनिक गरेका हुन् । भट्टराई लामो समयदेखि प्रम ओलीका धेरै काम कारबाहीबाट असन्तुष्ट रहँदै आएका छन् । उनले आफ्नो असन्तुष्टि सार्वजनिकरुपमा राख्दै आएका छन् ।
संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो भन्दै भट्टराईले जे गरेर रक्षा हुन्छ त्यही गर्न भनेका छन् । संविधान-लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने उनको चिन्ता छ । प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा छोटिँदै गर्दा दलहरुले आन्तरिक छलफल तीव्र बनाएका छन् ।
विपक्षी दलहरु वैकल्पिक सरकार बनाउने प्रयासमा जुटेका छन् भने सत्तारुढ एमालेका नेताहरुले जसपाले साथ दिए दाबी गर्ने बताएको छ । जसपाका अध्यक्षद्वय ठाकुर र यादवका बीचमा हालै मात्र राष्ट्रिय सहमति वा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो । त्यही सहमतिका आधारमा यादव पक्षका नेताहरुले अब महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।
यादव निकट सांसद इस्तियाक राई भन्छन्, ‘हाम्रो पार्टीको उम्मदेवार महन्थ ठाकुर हो, दलहरुको समर्थन खोजेका छौं ।’ नेपाली कांग्रेसमा पनि जसपाको नेतृत्व स्वीकार गरेर भए पनि वैकल्पिक सरकार बनाउनुपर्ने मत छ । यसबारे छलफल गर्न पदाधिकारी बैठक सुरु भएको छ । तर स्वयम् ठाकुरले भने केही बोलेका छैनन् ।
बरु प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरेलगत्तै बालुवाटार पुगेको र ठाकुर पक्षको समर्थनमा केपी ओली नै दोहोरिने दाबीहरु पनि आइरहेका छन् । ठाकुर निकट जसपा नेता सुरेन्द्र यादवले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने र संविधान संशोधनका लागि आयोग बनाउने सैद्धान्तिक सहमति दिएको भन्दै भने, ‘बाँकी कुरा आज सार्वजनिक हुन्छ होला ।’
ठाकुर पक्षका एक सांसदले भने जसपाको नेतृत्वमा सरकार बाबुराम भट्टराई–उपेन्द्र यादवहरुको एजेण्डा भएको बताए । त्यसका लागि उनीहरुले नै पहल गर्नुपर्ने उनको तर्क छ । ‘चाहे तपाईं घमण्डी भन्नुस, चाहे स्वाभिमानी भन्नुस्, नेतारुको दैलो चहारेर हिँड्ने स्वभाव महन्थ ठाकुरको होइन’ नाम उल्लेख नगर्ने शर्तमा उनी भन्छन्, ‘अहिले ठाकुरजीलाई प्रधानमन्त्री बनाउन चाहेको हो भने अहिलेसम्म त शेरबहादुर देउवा र प्रचण्डको समर्थन ल्याइसक्नुपर्ने होइन र ?’